गृहको कमाण्ड प्रधानमन्त्रीका विश्वासपात्र खाँणको हातमा

असार ३०, २०७८


असार ३०, शेरबहादुर देउवा नेतृत्वको सरकारमा बालकृष्ण खाँणले गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रहेका खाँणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । प्रधानमन्त्री देउवाका विश्वासपात्र खाँण २०३३ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय छन् ।

पञ्चायतकालमा पार्टीमाथि प्रतिबन्ध लागेका बेला उनी विद्यार्थी राजनीतिमा सक्रिय थिए । खाँणले २०४४ देखि २०४८ सालसम्म नेपाल विद्यार्थी संघ ९नेविसंघ० को नेतृत्व गरे भने २०५४ देखि २०६४ सालसम्म नेपाल तरुण दलको अध्यक्ष पनि बने । पार्टीभित्र युवा पुस्तामा लोकप्रिय खाँण २०५६ सालदेखि हालसम्म निरन्तर पार्टीमा केन्द्रीय सदस्यको भूमिका छन् । २०४८ सालमै रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी २०७० सालमा पनि प्रत्यक्ष तर्फबाट सांसदमा निर्वाचित भए ।

२०६४ र २०७४ सालमाचाहिँ उनी समानुपातिकबाट सांसद बने । २०५८ सालमा शिक्षा, युवा खेलकुद तथा संस्कृति राज्यमन्त्री बनेका खाँण गणतन्त्र स्थापनापछिको पहिलो सरकारमा सिंचाइ मन्त्री बनेका थिए । विद्यार्थी आन्दोलनका बेला खाँण २०३७ सालमा पक्राउ परेका थिए र राजकाज मुद्दामा ३ वर्ष जेल बसेर छुटेका थिए । वि.सं. २०१७ सालमा स्याङ्जामा जन्मिएका खाँणले राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् ।