माधव नेपालसँग वामदेव र नारायणकाजीको छुट्टाछुट्टै भेटवार्ता

असार ३०, २०७८


असार ३०, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । बुधबार बिहान श्रेष्ठ र गौतम नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । बिहान सुरूमा श्रेष्ठ कोटेश्वर पुगेका थिए भने केही समयपछि गौतम पुगेका थिए ।

नेपाल र श्रेष्ठबीच गठबन्धनबारे छलफल भएको र गौतमसँग समसामयिक राजनीतिक घटनाक्रम र पार्टीभित्रका विवाद समाधान गर्ने विषयमा कुराकानी भएको बताइएको छ । अध्यक्ष केपी ओली र नेता नेपाल पक्षका नेताहरूले आन्तरिक विवाद मिलाउन १० बुँदे प्रस्ताव तयार पारेका थिए। तर उक्त प्रस्ताव स्थायी कमिटीबाट अनुमोदन भइसकेको छैन । यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक राखे पनि पटकपटक स्थगित गरिरहेको छ ।