नवनियुक्त अर्थमन्त्री शर्माले गरे कोरोना खोपका लागि ५ अर्ब निकासा

असार ३०, २०७८


असार ३०, नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेका छन् ।आज बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै अर्थमन्त्री शर्माले पहिलो निर्णयका रूपमा कोरोना खोपका लागि रकम निकासाको निर्णय गरेका हुन् । सोही क्रममा सरकार कोरोना महामारीमा जनताको जीवनरक्षामा केन्द्रित रहने उनले बताए ।

उनले स्वास्थ्यकर्मीको जोखिमभत्ताका लागि रकम स्वीकृति सदरसमेत गरे । सरकारले कोराना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता उपलब्ध गराउने भने पनि लामो समयदेखि रकम निकासा हुन सकिरहेको थिएन । मन्त्रिपरिषदको हिजो मंगलबार बसेको पहिलो बैठकले आगामी चैतभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरिसकेको छ ।