कुन अभिनेत्रीको के व्यवसाय ?

साउन १७, २०७८


हालै एक अन्तर्वार्तामा अभिनेता राजेश हमालले भनेका थिए, ‘कलाकारिता सबैभन्दा असुरक्षित पेशा हो । कलाकारितामा लागेपछि सफल भइन्छ वा जीविकोपार्जन गर्न सकिन्छ भन्ने ग्यारेन्टी हुन्न ।’ कोरोनाका कारण फिल्म क्षेत्र ठप्प भएर लामो समयदेखि कलाकारहरु कामविहीन हुनु परेको अवस्थाले पनि कलाकारिता असुरक्षित पेशा हो भन्ने राजेश हमालको कुरालाई प्रमाणित गर्छ । कतिले यो कुरा बुझेर अभिनयसँगै अन्य व्यवसायमा पनि हात हालेका छन् भने कतिले कोरोना महामारीपछि वैकल्पिक व्यवसाय सुरु गरेका छन् । लकडाउनपछि अभिनेत्री साम्राज्ञी आरएल शाहले ‘प्याप’ नामको अनलाइन व्यवसाय सुरु गरिन्, जहाँ महिलाका लागि विभिन्न डिजाइनका कपडाहरु उपलब्ध छन् । उनले स्टोरमा पाइने कपडाको सामाजिक सञ्जालमा प्रचार गरिरहेकी हुन्छिन् । अभिनेत्री दीपिका प्रसाईंले पनि श्रीमान दीवाकर भट्टराईसँग मिलेर हिमालयन बहुउद्देश्यीय सहकारी नामक वित्तिय संस्था सुरु गरेकी छन् । यो जोडी चाँडै केक बेकरी र कफी शप पनि खोल्ने तयारीमा छ । स्थिति सामान्य भएर फिल्म क्षेत्रका गतिविधि सुरु नहुन्जेल व्यवसायलाई समय दिने योजनामा उनीहरु छन् । अब यो जोडी फिल्म र व्यवसायलाई एकसाथ अगाडि लैजान चाहन्छ । 

अभिनेत्री वर्षा राउतले पनि निषेधाज्ञाकै बीचमा रेस्टुरेन्ट व्यवसायमा हात हालेकी छन् । उनले श्रीमानसँग मिलेर गत महिना दरवारमार्गमा ‘जिजु’ नामक एक कोरियन रेस्टुरेन्ट खोलेकी छन् । विवाह बन्धनमा बाँधिएपछि उनले श्रीमान संजोग कोइरालाको व्यवसाय ‘चिया अड्डा’ लाई पनि समय दिँदै आएकी छन् । यसमा दीपकराज गिरी र दीपाश्री निरौलाको पनि लगानी रहेको छ ।  अभिनेत्री श्वेता खड्का पनि फिल्ममा मात्र सीमित छैनन् । फिल्ममा आउनुभन्दा अगावैदेखि विभिन्न व्यवसायमा आबद्ध उनले लामो समयदेखि कफी पारखीहरुका लागि ‘हिमालयन जाभा’ बाट सेवा दिइरहेकी छन् । राइजिङ मलबाट सुरु भएको हिमालयन जाभाले विभिन्न स्थानमा शाखा विस्तार गरिसकेको छ । योसँगै उनले इन्टेरिअर इन्जिनियरिङ कम्पनी पनि चलाउँदै आएकी छन् । भर्सटायल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरेकी ऋचा शर्मा पनि वैकल्पिक व्यवसायमा आबद्ध भएको लामै समय भयो । केही वर्षअघि उनले दरवारमार्गमा ‘पाङ्ग्रो’ नामक रेस्टुराँ सुरु गरेकी हुन् । अहिले यसलाई नक्सालमा सारिएको छ । उनले यो रेस्टुराँबाट राम्रो आम्दानी गर्ने गरेकी छन् । अहिले उनी कमेडी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को निर्माणाकको रुपमा छिन् ।  अभिनयसँगै व्यवसायलाई पनि एकसाथ लिएर हिँडेकी अर्की अभिनेत्री हुन्, नम्रता श्रेष्ठ । उनी फिल्ममा जस्तै व्यवसायमा पनि सफल छिन् । उनी ‘एटिक रेस्टुराँ तथा बार’ की सञ्चालक हुन् । नक्सालबाट सरेर अहिले ज्ञानेश्वरमा सञ्चालन भइरहेको यो रेस्टुराँ नम्रताको आम्दानीको बलियो स्रोत हो । उनले फिल्मको बारेमा छलफल गर्न निर्माता/निर्देशकलाई आफ्नै रेस्टुराँमा बोलाउँछिन् । कोरोना महामारीपछि फिल्म क्षेत्रको काम स्थायी हुन्न भन्ने बुझेर अरु पनि धेरै अभिनेत्रीहरु आफ्नै व्यवसाय सुरु गर्ने तयारीमा छन् । हलिउड/बलिउडका चर्चित सेलिब्रेटीहरुले पनि वैकल्पिक पेशाको रुपमा होटल, रेस्टुराँ लगायतका व्यवसाय चलाएका कयौं उदाहरण छन् । कोभिडअघि फिल्मबाहेक अरु नसोचेका नेपाली कलाकारहरुले अहिले व्यवसायतिर चासो दिन थालेका छन् ।