भुवनदेखि पलसम्मले लगाए कोरोनाविरुद्धको खोप

साउन २६, २०७८


नेपाल सरकारले फिल्मकर्मीका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ । निर्माता श्रीदेव विएलको पहलमा आइतवार पाटन ढोकास्थित पुरानो अशोक सिनेमा हलको परिसरमा फिल्मकर्मीलाई भेरोसेल खोपको पहिलो डोज लगाउन सुरु गरिएको हो । बिहान ९ बजेदेखि सुरु भएको खोप कार्यक्रम दिउँसो चार बजेसम्म चल्ने नेपाल चलचित्र कलाकार संघले जानकारी दिएको छ । बिहान ९ देखि १० बजेसम्म कलाकारलाई, ११ देखि १२ बजेसम्म फिल्म निर्माता र सिनेमा हल व्यवसायीलाई, १ देखि २ बजेसम्म प्राविधिकलाई, २ देखि ३ बजेसम्म नृत्य र द्वन्द्व कलाकारलाई, ३ देखि साढे ३ बजेसम्म निर्देशकलाई र साढे तीन बजेपछि जनजाति महासंघ र अन्य संघ संस्थामा आबद्ध रहेका फिल्मकर्मीलाई खोप लगाइने कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए । कलाकार संघले निकालेको तालिका अनुसार नै फिल्मकर्मीहरु कोरोनाविरुद्धको खोप लगाउन पुगिरहेका छन् । बिहान ९ देखि १० बजेसम्म भुवन केसी, पल शाह, पुष्प खड्का, रेजिना उप्रेती, धिरेन शाक्य, दुर्गेश थापा लगायतले खोप लगाएका थिए । सरकारले फिल्मकर्मीलाई दोस्रो मात्राको भेरोसेल खोप पनि चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाएको संघका अध्यक्ष खड्काको भनाई छ । खोप कार्यक्रममा बोल्दै उनले भने- ‘सर्वसाधारण जसरी सार्वजनिक ठाउँमा कलाकारहरुलाई खोप लगाउन निकै अप्ठ्यारो हुन्छ । यसैले कलाकार संघले सरकारका मन्त्रीदेखि विभिन्न सरोकारवाला निकायसँग फिल्मकर्मीका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका थियौं । कोरोनाविरुद्धको खोप लगाएपछि फिल्म क्षेत्र पुरानो लयमा फर्किनेमा कलाकार संघ विश्वस्त छ ।’