नेपाल समूह छाडेका नेताहरू मंगलबारको एमाले स्थायी कमिटी बैठकमा सहभागी हुने

भदौ ०७, २०७८


भदौ ७, एमालेले मंगलबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । माधवकुमार नेपाल समूहबाट अलग भएका नेताहरू र एमाले अध्यक्ष केपी ओलीबीच आज भएको छलफलपछि स्थायी कमिटी बैठक बोलाइएको हो ।

लामो समय नेपाल सममूहमा रहँदै आए पनि पछिल्लो समय अलग्गिएका एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टलगायत नेता आज ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । उनीहरुसँगको छलफलमा अध्यक्ष ओलीसँगै महाससचिव ईश्वर पोखरेल पनि सहभागी थिए ।

बालकोटको छलफलले एमाले एकताका लागि विगतमा गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने निष्कर्ष निकालेको जनाइएको छ । आज बालकोट पुगेका नेताहरु मंगलबारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा पनि सहभागी हुने जनाइएको छ । भोलि बस्ने बैठकमा १० बुँदे कार्यान्वयनका आधारहरु तयार पारिने एक नेताले बताएका छन् ।