एक साताभित्रै जसपा सरकारमा जान्छ : डा.भट्टराई

भदौ ०९, २०७८


भदौ ९, जनता समाजवादी पार्टी जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले एक साताभित्रै सरकारमा सहभागी हुने दाबी गरेका छन् । तराई-मधेस र पहाडको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा पार्टी सरकारमा जाने उनले बताए । जसपाले सातवटै प्रदेशमा आह्वान गरेको पार्टी सुदृढीकरण एवं जनजागरण अभियानअन्तर्गत बागमती प्रदेशलाई समेटेर बुधबार काठमाडौंमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै जसपा वैकल्पिक शक्तिको उदयमान भएको दाबी गरे ।

महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गर्दै डा. भट्टराईले ठाकुर-महतोलाई खानेबेलामा अभागीलाई रिस उठेजस्तै भएको व्यंग्य गरे । जसपाबाहेक कुनै पनि राजनीतिक शक्तिले मुलुकलाई सही निकास दिन नसक्ने दाबी गर्दै उनले आगामी निर्वाचनबाट जनताका उत्साहजनक मत पाएर जसपा बलियो शक्तिको रुपमा उभिने विश्वास व्यक्त गरे ।

भाद्र १ र २ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेअनुसार सात वटै प्रदेशमा सुरु भएको पार्टी सुदृढीकरण र जनजागरण अभियानले जसपालाई एउटा नयाँ उचाइमा पुर्याउने उनको दाबी छ । बागमती प्रदेशका जिल्लाहरुबाट नेतृत्वदायी अगुवा नेताहरु सम्मिलित सो कार्यक्रमलाई जसपाका नेताहरु राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव र हिसिला यमीलगायतले सम्बोधन गरेका थिए ।