भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

भदौ १०, २०७८


भदौ १०, एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री रहँदै आएका शेरधन राईले राजीनामा दिएपछि आज बिहीबार सो पदमा आचार्य नियुक्त भएका हुन् । मुख्यमन्त्रीमा नियुक्त हुनुअघि उनी एमाले प्रदेश १ संसदीय दलको नेता चयन भएका थिए । विराटनगर स्थित होटल एसिया टेकमा आज बिहान बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।

सोही बैठकमा मुख्यमन्त्रीबाट राजीनामा दिने निर्णय गरेको राईले आचार्यलाई दलको नेतामा प्रस्ताव गरेका थिए । मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उनलाई मुख्यमन्त्रीका रूपमा शपथ गराएका हुन् । प्रदेश सभा १, ९३ सदस्यीय रहेको छ । तीमध्ये एमालेका ५२ सांसद छन् । एमालेको स्पष्ट बहुमत भएकाले आचार्यलाई दलको नेता बनाई मुख्यमन्त्री नियुक्त गर्न सजिलो भएको हो ।