जनवादी गायक जेबी टुहुरेको निधन

भदौ १०, २०७८


भदौ १०, अत्यन्त चर्चित जनवादी गीत ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ का गायक जेबी टुहुरे जुटबहादुर खड्गीको ७८ वर्षको उमेरमा निधन भएको छ । आज बिहीबार बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । घरमै हुँदा स्मष्तिष्कघातका कारण एक्कासि लडेपछि उनलाई गत मंगलबार वयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

उनी मुटु, फोक्सो, मधुमेह, उच्च रक्तचापलगायत दीर्घरोगबाट पनि पीडित थिए । मंगलबार मात्र सरकारले उनको उपचारमा लाग्ने सबै खर्च बेहोर्ने घोषणा गरेको थियो ।उनले महिला मुक्ति र सशक्तिकरणका आवाज उराल्ने, अन्याय-अत्याचारमा परेकोहरूको पक्षमा वकालत गर्ने खालका डेढ सयभन्दा बढी गीत गाएका छन् । गायनकै माध्यमले कम्युनिस्ट आन्दोलनको अग्रमोर्चामा उनी उभिँदै आएका थिए । परिवर्तनकारी गीत गाएरै उनले धेरै नेपालीलाई कम्युनिस्ट आन्दोलनमा आकर्षित गराएको चर्चा हुने गर्छ ।

उनी एमालेमा आबद्ध रहँदे आए पनि २०७० सालयता माओवादी केन्द्रमा थिए । माओवादी केन्द्रबाट संविधानसभा सदस्यसमेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने बताइएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । टुहुरे २००१ कात्तिक १५ गते धरानमा जन्मिएका थिए । २०२१ सालमा पिताको निधनपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोड्न थालेको बताइन्छ ।