बाढीपहिरोको प्रकोप : काठमाडौं उपत्यकाका सयौँ घर डुबे, रोल्पामा दुई जनाको मृत्यु, बनेपा पनि जलमग्न

भदौ २१, २०७८


गए रातिदेखि परेको वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेका छन् । बल्खुको तरकारी बजार, शंखमुल पार्क, कालीमाटीको तरकारी बजार, कोटेश्वरको नरेफाँट लगायतका क्षेत्र डुबानमा परेका हुन् ।

डुबानमा परेपछि प्रहरीले १३८ जनाको उद्धार गरेको छ । बागमती र धोबीखोलामा पानीको सतह बढेपछि बस्तीहरू डुबानमा परेका हुन् । वर्षाका कारण उपत्यकाका केही क्षेत्रको विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यरातदेखि भारी वर्षा भइरहेको छ । रातिदेखि बिहान ७ बजेसम्म १०५ मिलिलिटर वर्षा भएको मौसमविद्ले जानकारी दिएका छन् ।

काभ्रेको पुलबजार क्षेत्र पनि जलमग्न भएको छ । अविरल वर्षापछि आएको बाढीका कारण सो क्षेत्र जलमग्न भएको हो । सो क्षेत्रको यातायात समेत प्रभावित भएको छ ।

वर्षापछि गएको पहिरोमा परी रोल्पामा दुई जनाको मृत्यु भएको छ । रोल्पास्थित रोल्पा नगरपालिका- १० धवाङमा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको हो ।

नगरपालिकाको १० नम्बर वडा कार्यालय नजिकै रहेको पूर्णबहादुर थापाको घर पहिरोले पुरेको मेयर पूर्ण केसीले जानकारी दिए ।

पहिरोमा परी ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको हो । उनीहरू एकै परिवारका हुन् ।

मौसमविद् मीनकुमार अर्यालले काठमाडौं उपत्यकामा ६ घण्टामा अति भारी वर्षा भएको जानकारी दिए । उनका अनुसार स्थानीय रूपमा विकसित भएकाे माैसमी प्रणाली र ब‌ंगालकाे खाडीको उत्तरपूर्वी भूभागमा विकास भएको निम्न चापीय क्षेत्रले जलवाष्पयुक्त हावा नेपालमा लिएर आउँदा एक्कास्सी मेघगर्जनसहित वर्षा भएकाे हाे ।