पल शाहको कार्यक्रममा संचारकर्मीलाई प्रवेश निषेध ?

कार्तिक २९, २०७८


नायक पल शाह र गायिका समीक्षा अधिकारीबीचको ‘सम्बन्ध’ अहिले चर्चामा छ । यी दुईबीचको अफेयरलाई लिएर मिडियामा खबर आउन थालेपछि पल पत्रकारसँग चिढिन पनि थालेका छन् । शनिबार राजधानीमा आयोजित एक गीत लन्च कार्यक्रममा पलकै इशारामा पत्रकारलाई कार्यक्रममा प्रवेश दिइएन ।

पलकै निर्देशनमा सुरक्षागार्डले पत्रकारलाई ढोकाबाटै फिर्ता पठाए । सोल्टीमोडस्थित न्यू हायात होटलमा पल अभिनित ‘तिमीलाई हेरेर’ बोलको गीत लन्च कार्यक्रम आयोजना भएको थियो । नेपाली फिल्म र म्युजिक भिडिओको कार्यक्रममा यसरी पत्रकारलाई फिर्ता पठाइएको पहिलोपटक हो । कार्यक्रमको रिपोर्टिङ गर्न पुगेकी एक पत्रकारले नेपाल प्रेससँग आफूहरुलाई बेइज्जती ढंगले फिर्ता पठाइएको अनुभव सेयर गरिन् ।

यसअघि एक कार्यक्रममा पनि पलले पत्रकारलाई ५ घण्टासम्म कुराएर पठाएका थिए । गायिका अधिकारी सँगको अफेयर सार्वजनिक भएपछि पल पत्रकारबाट भाग्दै आएका छन् । गत महीना अनामनगरमा आयोजित एक कार्यक्रममा पनि गायिका अधिकारी पत्रकार सम्मेलनबाट सुटुक्क बाहिरिएकी थिइन् ।