डा.रिजालको “ह्यारीकी प्यारी”घोषणा

माघ ११, २०७८


काठमाडौ।
एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पूनः फिल्म निर्माणमा फर्किएका छन्। डा. रिजालले “ह्यारीकि प्यारी”नामक रोमान्टीक कमेडी चलचित्रको घोषणा गरेका छन्। मुहर्तसंगै सोमबारबाटै चलचित्रक सुटिङ शुरु गरिएको छ।

यो चलचित्रलाई ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ डा.भोला रिजालका दन्त चिकित्सक पुत्र डा. कपिल रिजालले निर्देशन गर्दैछन्। लण्डनको दन्त चिकित्सा क्षेत्रमा साँढे दुई दशकदेखि लोकप्रियता कमाउँदै आएका डा. कपिलले लण्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरु गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् भने नेपाल र लण्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। फिचर फिल्म भने “ह्यारीकि प्यारी” उनको डेब्यु चलचित्र हो।

चलचित्रमा जितु ह्यारी र साम्राज्ञी राज्य लक्ष्मी शाह उनको प्यारीका रुपमा देखिनेछन्। जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गर्दैछन्।

चलचित्र डा. भोला रिजालको बिआर प्रडक्सनको व्यानरमा निर्माण भईरहको छ भने प्रस्तुति र निर्देशन डा. कपिल रिजालको रहनेछ। चलचित्रमा कथा डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ।