‘लाखे’ को छायांकन सेटमा निकै खुशी देखिएकी वर्षा

माघ १७, २०७८


अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहनेगरी चलचित्र २ नम्बरी र के घर के डेरा को घोषणा भएको थियो । जसमध्ये २ नम्बरी को केही प्रतिशत छायांकन पनि भयो । कोरोनाका कारण काम सबै लथालिङ्ग भएपछि निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा यो चलचित्रको छायांकन फेरि शुरुबाटै गर्ने सोचमा छन् ।

वर्षाले केही दिनअघि दिएको एक अन्तर्वार्तामा पनि आफू अब पहिले अनुबन्धित भएको चलचित्रमा रहेको वा नरहेको पनि पत्तो नभएको बताएकी थिइन् । चलचित्र नभएपनि म्युजिक भिडियोका कारण वर्षालाई राम्रै भइरहेको थियो । तर अहिले भिडियोमा पनि उनको खासै माग नभएको देखिन्छ । अब भने वर्षालाई केही महिनाअघि साइन गरेको चलचित्र ‘लाखे’ ले राहत दिएको छ ।

दुई वर्षभन्दा लामो समयदेखि चलचित्रमा काम गर्न नपाएकी वर्षा ‘लाखे’ को सेटमा निकै खुशी देखिएकी छन् । लकडाउनपछि आफूलाई चलचित्रबाट अफर नआएको बताएकी वर्षाका लागि यो चलचित्र राहत बनेर आएको छ । ‘लाखे’ बाट छायांकन सेटमा फर्किएकी वर्षाका लागि यो चलचित्र चुनौतीपूर्ण छ । उनको खस्किँदो क्रेजलाई बचाउन यो चलचित्रको राम्रो व्यापार गर्न आवश्यक छ ।