विवेकशील साझामा असन्तुष्ट नेताहरुको छुट्टै भेला

चैत १४, २०७८


चैत १४, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीमा एकलौटी निर्णय गरेको र पार्टीलाई राप्रपासँग पार्टी मिलाउन खोजेको आरोप लगाउँदै असन्तुष्ट नेताहरुले छुट्टै भेला गरेका छन् । संगठन विभागका प्रमुख निर्देश सिलवाल समूहका केन्द्रीय सदस्यहरूले आज सोमबार भेला गरेका हुन् । राप्रपासँग पार्टी एकता गर्ने प्रस्तावको विरुद्धमा रहेकाहरू आइतबारको बैठकमा अध्यक्ष मिश्रले एकलौटी ढंगले प्रदेश संयोजक चयन गरेपछि विवेकशील साझाको विवादले चर्को रूप लिएको थियो ।

असन्तुष्ट पक्षका एक नेताले केन्द्रीय समितिका आधाभन्दा बढी सदस्य भेलामा सहभागी भएको दाबी गरे। भेलापछि पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने जनाइएको छ । आइतबार मिश्रले मधेश प्रदेशको संयोजकमा धनपति महतो, वाग्मतीमा सञ्जीव वल्लभ भट्टराई, गण्डकीमा सुशीला अधिकारी के सी र अन्तर्राष्ट्रिय समितिको संयोजकमा एसके श्रेष्ठ चयन गरेको बताएका थिए ।

आफूनिकट व्यक्तिहरु नअटाएपछि सिलवाल समूहले मिश्रको सो निर्णयमा असहमति जनाएका थिए । अध्यक्ष मिश्रले २६ केन्द्रीय सदस्यलाई कारबाही गरेको र पार्टी महाधिवेशन स्थानीय चुनावपछि गर्ने निर्णय गरेको पनि बताएका थिए। पार्टीका महत्वपूर्ण विषयमा छलफल नगरी एकलौटी गरेको भन्दै नेताहरु असन्तुष्ट बनेका थिए ।