रोल्पाको बलले सिंहदरबारमा लडिरहेको छु : प्रचण्ड

चैत १४, २०७८


रोल्पा १४ चैत।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाकै बलमा आफूले सिंहदरबारमा लडिरहेको बताएका छन् ।

सोमबार रोल्पाको सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले पनि आफूहरुलाई घेरा हाल्न खोजेको तर आफू लडिरहेको बताए ।

‘तपाईंहरुकै बलमा हामीले सिंहदरबारमा लड्ने हो,’ प्रचण्डले भने, ‘अहिले पनि प्रतिक्रियावादीहरु राम्रो कुरा उल्ट्याउनका लागि लागि रहेका छन् । त्यसविरुद्ध हामी हतियारबिना लडिरहेका छौं । लडाइँ उस्तै छ । हामीलाई घेरा हालेर सक्न खोजेका छन्, हामी घेरा तोडेर विजय हुन खोजिरहेका छौं ।’

प्रचण्डले आफूले सोचेभन्दा तीव्र गतिमा रोल्पामा विकास भएको पाएको समेत बताए । ‘जहाँ माओवादी केन्द्रले नेतृत्व गरेको छ, त्यहाँ विकास भएको छ,’ उनले भने, ‘मैले रोल्पामा यति चाँडै विकास होला भन्ने सोचेको थिइनँ । विद्युत ६० प्रतिशत पुगेको छ । स्वाथ्य सबैतिर पुगेको छ । शिक्षामा सुधार हुँदैछ ।’

प्रचण्डले रोल्पा क्रान्तिका लागि मात्रै नभइ शान्तिपूर्ण रुपान्तरणका लागि पनि अब्बल रहेको बताए । ‘रोल्पा जिल्ला क्रान्तिकारी परिर्वतनका लागि मात्रै प्रतिवद्ध होइन, शान्तिपूर्ण रुपान्तरण र विकासमा पनि योगादन गर्न सक्छ भन्ने लाग्छ’ उनले भने ।

रोल्पा ‘लालकिल्ला’ रहिराख्ने भन्दै प्रचण्डले रोल्पालीकै योगदानका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

‘रोल्पा लाल किल्ला थियो, छ र रहिराख्ने छ,’ उनले भने, ‘तपाईंहरुको योगदान नभएको भए यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउने थिएन । सबैले राज्यमा राज्यमा प्रतिनिधित्व पाउने सम्भावना थिएन ।’