ओली आज विराटनगर आउँदै

बैशाख २४, २०७९


पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ आउँदै छन् । एमालेले आयोजना गरेको स्थानीय तह लक्षित निर्वाचन सभाहरुलाई सम्बोधन गर्न प्रदेश १ आउन लागेका हुन् ।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार बिहान १० बजेको यति एयरलाइन्सबाट विराटनगर झर्ने ओली सुनसरीको धरानमा आयोजना हुने चुनावी सभामा सहभागी हुनेछन् ।

धरानको सभालाई सकेर ओलीले सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्ने, त्यसपछि विराटनगरमा र पुनः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा आयोजित सभालाई सम्बोधन गरेर काठमाडौं फर्किने कार्यक्रम रहेको पोखरेलले जानकारी दिए ।

स्थानीय चुनाव लक्षित कार्यक्रमका लागि एमाले अध्यक्ष ओलीले आक्रामक अभियान चलाइरहेका छन् । चुनाव प्रचारको समय ४ दिनमात्रै बाँकी छँदा दलहरुले चुनावी अभियान पनि तीब्र बनाउँदै लगेका छन् ।