तुलसीपुर मेट्रो कलेजमा कानून दिवस : कानून सर्वव्यापी छ

बैशाख २६, २०७९


तुलसीपुर,२६ बैशाख ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नीता गौतम दिक्षितले मानव अधिकार र सामाजिक न्यायको प्रस्थान विन्दु कानून भएको बताएकी छिन् । उनले कानूनको दृष्टिले सबै समान हुने बताउँदै कानूनको पालना सबैले अनिवार्य गर्नुपर्ने कुरामा जोड दिइन् । “कसैले मलाई कानूनको ज्ञान छैन भन्दैमा उसको अपराधलाई क्षमा दिने काम हुँदैन“ उनले भनिन् ।

कानूनका दृष्टिले हरेक नागरिक समान हुने पनि उनको भनाई थियो । तुलसीपुर मेट्रो कलेज बिएएलएलबीमा अध्ययनरत विद्यार्थीहरुले कानून दिवसको अवसर पारेर आयोजना गरेको कानून दिवसको सार्थकता विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिक्षितले संविधानको सर्वोच्चतामा कानून भन्दा अगाडी केही पनि हुन नसक्ने कुरामा जोड दिइन् । एकाध व्यक्तिले गलत काम गर्दैमा सम्पूर्ण न्यायालयमा नै भ्रष्टाचार छ भन्नु तथ्यपरक कुरा नभएको उनको कथन थियो । “एकाध व्यक्तिको आचरणलाई लिएर समग्र न्यायालयमाथि गलत ढँगले प्रश्न गर्नु उचित होईन ” मुख्य न्यायाधिश दिक्षितले भनिन् । उच्च अदालत तुलसीपुरले नेपालमै सबैभन्दा छिटो मुद्दाको छिनोफानो गरेको पनि उनको दाबी थियो । “हामीकहाँ अहिलेसम्म पनि मुद्दा ढिलो भयो भन्ने खालको एउटा गुनासो आएको छैन” उनले जोड दिईन् ।

कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरमै कानूनको अध्यापन सहजताका लाागि आफुले कलेज सञ्चालनको पहल गरेको बताए । कानून सर्वव्यापी विषय भएको हुँदा सबै कुरामा यसको महत्व भएकोमा पनि उनको जोड थियो । “विभिन्न क्षेत्रमा न्यायको कुरा चलिरहन्छ, चाहे त्यो सामाजिक होस् या वातावरणीय नै किन नहोस् जहाँ पनि कानून चाहिन्छ” नगरप्रमुख पाण्डेले भने ।

कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुर बार एसोसियसनका अध्यक्ष पुष्कर भण्डारीले अदालतमा पनि विभिन्न कमजोरी हुने गरेको बताउँदै बारले त्यसलाई सुधार्दै लगेको बताए । कानून दिवसको सार्थकता कानूनको परिपालनाबाट मात्रै सम्भव हुने उनको भनाई थियो । “हामीले मात्रै कानून जानेर या बुझेर हुँदैन सबैलाई कानूनको ज्ञान दिलाउनु आवश्यक हुन्छ” अध्यक्ष भण्डारीले भने ।

बरिष्ठ अधिवक्ता वामदेव शर्माले समाजको सुरुवातसँगै कानूनको सुरुवात भएको बताउँदै समाजले नै कानून निर्माण गरेको बताए। लिखित कानून नहुँदा र्धम, संस्कृति र परम्पराका आधारमा न्याय सम्पादन हुने गरेको पनि उनले बताए। अर्का वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले कालोकोटमा कुनै पनि कलंक लगाउन नहुने कुरामा जोड दिए । जनतालाई न्यायालयप्रति पूर्ण विश्वस्त बनाउनुपर्नेमा उनको जोड थियो । कानून विषयप्रति विद्यार्थीको आकर्षण बढ्नु सुखद कुरा भएको पनि उनको भनाई थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रदीप धितालले विधिको शासन सबैलाई आवश्यक पर्ने बताए ।

विद्यार्थी निराजन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्य, विद्यार्थी तिर्सना रोकाया र सुमिक्षा आचार्यले कानूनको महत्वका बारेमा बताएका थिए भने कार्यक्रमको सहजिकरण विद्यार्थी प्रकाश वलीले गरेका थिए ।