विद्युत प्राधिकरणको लापरवाही,कार्यालय घेराउ गर्ने चेतावनी

बैशाख २७, २०७९


तुलसीपुर,२७ बैशाख । 

अघोषित लोडसेडिङका कारण तुलसीपुर क्षेत्रका उपभोक्ताहरुले हैरानी व्यहोरेका छन् । छिनमै बत्ती जाने र छिनमै बत्ती आउने जस्ता समस्याले उपभोक्ता हैरानी भएका छन् । विशेषगरी विद्युतिय मार्फत प्रविधि प्रयोग गर्ने उपभोक्ताहरु मर्कामा परेको छन् । पछिल्लो समय दैनिक छिन,छिनमा बत्ती जाने र आउने समस्या बढेको छ ।यसबाट प्रत्यक्ष रुपमा उद्योगी, व्यवसायी,कलकारखाना,सरकारी तथा गैरसरकारी कार्यालयका सेवाग्राही बढि मर्कामा परेको उनीहरुले गुनासो गरेका छन् ।

यसरी विद्युत लाईन बिच बिचमा जाँदा विद्युतीय प्रविधिको उपकरणमा क्षति हुने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।विद्युत अनियमित हुँदा व्यवसायीहरु पनि उत्तिकै मर्कामा परेको तुलसीपुर उद्योग बाणिज्य संघले बताएको छ । विद्युत प्राधिकरणको लापरवाहीका कारण पछिल्लो समय यस्तो समस्या बढेको भन्दै समस्या समाधान नगरे उद्योगी ,व्यवसायीहरुले विद्युत कार्यालयमा पुगेर घेराउ गर्नुपर्ने अवस्था आएको संघका अध्यक्ष रामप्रसाद चालिसे चेतावनी दिनुभयो । लामो समय देखी यस्तो समस्या हुदा पनि प्राधिकरणले कुनै सुधार नगरेको भन्दै सरोकारवालाहरुले यस बारेमा पहल गर्नुपर्ने उहाको भनाई छ ।