स्थानीय तहको निर्वाचनका लागि मौन अवधि सुरु

बैशाख २८, २०७९


काठमाण्डौ, २८ बैशाख ।

आउदो शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधी सुरु भएको छ । यो समयमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न पाउँदैनन् । मौन अवधिमा उम्मेदवारहरूले मत माग्ने, आफ्नो चुनावी अभियान गर्ने, सामाजिक सञ्जालमा पोष्ट गर्ने, मतदातासँग भेटघाट गर्नेलगायत कार्य गर्न मिल्दैन ।

मौन अवधिमा मतदाता प्रभावित पार्ने दुष्प्रयास हुनसक्ने भन्दै आयोगले त्यसलाई रोक्न र त्यस्ता अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सूचना सङ्कलकका रुपमा सयभन्दा बढी स्थानमा सुक्ष्म अनुगमनकर्ता खटाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।गृहमन्त्रालय लगायतका सरोकारवाला निकायले भने मौन अवधिको अनुगमन र निगरानी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भइरहेको बताएका छन् ।

मौन अवधिमा आचारसंहिता विपरितका गतिविधि हुने र मतदाता प्रभावित हुने गरेको विगतको निर्वाचनमा देखिएको भन्दै विज्ञहरूले भने निर्वाचन आयोग र सुरक्षा निकाय चनाखो हुनुपर्ने बताएका छन् । आयोगले मतदानको दिनसम्म संयमित हुन आम मतदाता तथा उम्मेदवारहरूलाई अनुरोध गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोट हाल्ने उमेर पुगेका र मतदाता नामावलीमा नाम भएका सबैलाई आफ्नो अधिकार ढुक्क भएर प्रयोग गर्न अपील गर्नुभयो । देशभरका मतदान केन्द्रबाट नयाँ मतदाताको लागि आज र भोलि मतदाता परिचयपत्र वितरण तथा मतदाता शिक्षा कार्यक्रम पनि चलाइँदैछ । यसपालिको चुनावमा ६५ दल सहभागि छन् भने चुनावकै लागि १ लाख ९ हजार ८८ कर्मचारी खटिने पनि आयोगले जनाएको छ ।