काठमाडौँ उपत्यका छोड्नेको सङ्ख्या बढ्दै

बैशाख २८, २०७९


काठमाण्डौ,२८ बैशाख ।

 मतदान गर्ने दिन नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेको सङ्ख्या बढ्दै गएको छ । उपत्यका छोड्नेको सङ्ख्या बढेपछि आज बिहानैदेखि काठमाण्डौका मुख्य नाका कलङ्की–नागढुंगा, कोटेश्वर–जडिबुटी र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको सङ्ख्या बढेको छ । तर आजबाट कतिपय विद्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र उनीहरूका अभिभावकहरू जिल्ला फर्किने क्रम ह्वात्तै बढेको छ ।कतिपयले गाडी रिजर्भ गरेर मानिसहरू गाउँसम्म ओसारिरहेका छन् । मतदाता नामावलीमा आफ्नो नाम भएकै केन्द्रबाट मतदान गर्नुपर्ने भएकाले भोट हाल्नकै लागि गाउँ फर्कनेको सङ्ख्या बढिरहेको छ ।