तुलसीपुर १७ मा बावुको निधनपछि छोराले गरे उम्मेदवारी दर्ता

बैशाख २८, २०७९


बैशाख २८। तुलसीपुर १७ को अध्यक्ष उम्मेदवार स्वर्गीय लबरु चौधरीका छोरा प्रदिप चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । चौधरीले बुधवार साढे १२ बजे मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय तुलसीपुरले जानकारी दिएको छ । अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको गएको मंगलवार उपचारको क्रममा निधन भएपछि उहाँको छोरा प्रदिपलाई एमालेले उम्मेदवार बनाएको हो ।

भोली बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नम्बर १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।