श्रम डे, गाउँपालिकाको लागी ऐतिहासिक दिन हो : अध्यक्ष सुक बहादुर बुढा मगर

कार्तिक ०४, २०७९



परिवर्तन गाउँपालिका ७५३ वटा स्थानीय तह मध्येको लुम्विनी प्रदेश अन्तर्गतको रोल्पा जिल्लामा पर्ने एक स्थानीय तह हो । साबिकका राङकोट, राङसी, कुरेली ,इरिवाङ र पाछावाङ गाविस समायोजन भई यस गाउँपालिकाको निर्माण भएको हो जसको कुल क्षेत्रफल १६३.०१ वर्ग किलोमिटर रहेको छ । समृद्धि, सुरक्षित, सामाजिक न्याय र सुशासनयुक्त परिवर्तन गाउँपालिका भन्ने मूल भनाईलाई आत्मसाथ गर्दै उपलव्ध स्रोत र साधनको यथोचित वितरण र परिचालन गरी समुचित रुपमा कार्यालय संचालन गरी अघि बढेको गाउँपालिका चालु आ.व.मा आफ्नो लक्ष भेटाउने प्रयास गरिरहेको छ ।

जस्तो नाम त्यस्तै काम गरी परिवर्तन गाउँपालिकालाई साच्चिकै एउटा नमुना योग्य गाउँपालिका वनाउन यहाँका जनप्रतिनिधि देखि लिएर कर्मचारीहरु सबै तल्लिन भएर अगाडि बढिरहेका छन् । रचनात्मक शैलि प्रयोग गरेर गाउँपालिकाले आम जनमानसका गुनासाहरुको सम्वोधन गरी आफ्ना कार्यहरु अघि बढाईरहेको गाउँपालिकाले सामाजिक,आर्थिक,पूर्वाधार,प्रशासनीक,सुशासन तथा संस्थागत विकासका लागि गाउँपालिकाले विभिन्न समितिहरुनै गठन गरेर आफ्ना मूख्य क्रियाकलापहरु संचालन गर्दै आएको छ । स्वास्थ्य,शिक्षा जस्ता महत्वपूर्ण क्षेत्रमा गाउँपालिकाले उल्लेखनीय योगदान गरेको छ भने कृषि,पशु,स्वरोजगार,सुचना प्रविधि जस्ता कुराहरुमा गाउँपालिकाको महत्वपूर्ण योगदान रहेको छ । गाउँपालिकाले विपद व्यवस्थापन तर्फ पनि आफुलाई तल्लिन बनाई हरेक जनताका समस्याहरुलाई मध्यनजर गर्दै आम जनताको समस्यालाई नजिक बाट सम्वोधन गरेको छ जसले गर्दा जनतालाई स्थानीय सरकार भएको अनुभूति भएको छ ।
गाउँपालिकाले विशेषगरी २०७९ साल कार्तिक ४ गते सम्पूर्ण गाउँपालिकावासीहरुलाई परिवर्तन गाउँपालिकाको आह्वान,श्रममा सम्मान भन्ने मुल नाराका साथ श्रम डे को आयोजना गरेको छ । गाउँपालिकावासीहरु श्रममा जुटौ र पालिका निर्माणमा भूमिका खेलौ भन्दै गाउँपालिकाको सातौ कार्यपालिका वैठकले श्रम डे को आयोजना गर्ने निर्णय गरेको थियो । विशेषगरी गाउँपालिकामा रहेका आम मानिसहरुलाई स्वतस्फूर्त रुपमा एक वर्षमा एक दिन श्रममा लगाउने अभिप्रायले श्रम डे को आयोजना गरिएको हो । दोस्रो स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित भएर जनप्रतिनिधिको रुपमा गाउँपालिकाको अध्यक्ष भएका सुक बहादुर बुढा मगरसंग यसै सन्दर्भमा रहेर हाम्रा सम्वददाता सूर्य प्रकाश वुढा मगरले कुराकानी गर्नुभएको छ ।

१)श्रम–डे किन मनाउने निर्णय किन भयो ?
श्रम–डे वास्तवमा हामीले निर्णयको हिसाबले परिवर्तन गाउँपालिकाको कार्यपालिकाको निर्णयले २०७९ असोज ०२ गते गरेको थियो। किन गरेको भन्दा आफ्नो गाउँपालिका आफैं बनाउने कुरा हो,कसैले बनाइ दिन आउँछु भनेर हुँदै,परिवर्तन गाउँपालिकाको विकास,परिवर्तन गाउँपालिकाको समृद्धि बनाउने भनेको हामी आफैं हो । किनकि परिवर्तन गाउँपालिका निर्माणका लागी हामी सबै लाग्यौ भने अत्यन्तै राम्रो हने भएकाले यो निर्णय गरेका हौ । हामीलेयो निर्णय किन गर्यौ भन्दा तपाईं हामीलाई थाहा छ अहिले मानिसले के गर्छ भन्दा खेरि खेतबारीमा काम गर्ने अर्थात् त्यो किसान हुन्छ नि जसले श्रम गर्छ, श्रम गर्नेको आधारमा हामी बाँची रहेका हुन्छौं । जस्तैःम अहिले सरकारमा छु अहिले सरकारको प्रमुखको हिसाबले भोलि गर्ने क्रममा मैले खाने अनाज उत्पादन गरेको हुन्छ नि त्यो के हो त भन्दा खेतबारीमा कुटो र कोदाली,हलो बाट उत्पादन गरेको अन्न नै खाइरहेको हुन्छु । ती उत्पादन गर्ने मानिसलाई कहिँ न कहिँ हेलाँ गरेको जस्तो तिनीहरूलाई अपमान गरेको जस्तो उत्पादन गर्ने मान्छेलाई सम्म होइन कि खाने मानिसलाई सम्मान गरिन्छ । त्यसैले त्यो आधारमा के हो भन्दा जून खालको भिन्नता त्यसलाई हामीले सकेसम्म त्यो भिन्नतालाई हटाउन पर्दछ । सबैले के हो त भन्दा खेतबारीमा काम गर्ने मान्छेले कुटो र कोदालो खन्ने मानिसलाई सम्मान गर्नुपर्छ भन्ने संस्कारको विकास गर्नको लागी यो काम गर्न खोजेको हो। हामिले यसलाई वर्षको एक दिन परिवर्तन गाउँपालिकाको गौरवको रूपमा यो श्रम–डे मनाउछौं जुन परिवर्तन गाउँपालिकाको सवालमा एउटा ऐतिहासिक दिन हो ।

२)श्रम–भनेको के हो ? श्रम डे का दिन के–के गर्नुहुन्छ तपाईहरु ?
श्रम–डे भनेको गाउँपालिकावासी,जनप्रतिनिधिहरु,शिक्षक,कर्मचारीहरु वर्षको एक दिन कम्तिमा आठ घण्टा गाउँपालिकाको समग्र क्षेत्रमा आफुले श्रम गरी गाउँपालिका निर्माणमा भूमिका खेल्ने दिन हो । हामीले भनेका छौँ,वडा पालिका र टोल विकास संस्था बीचमा छलफल गरेर टोल विकास संस्थामा के आवश्यकता छ त सडक मर्मत गर्नुपर्ने हि कि,त्यहाँ घोरेटो बाटो निर्माण गर्ने हो कि,त्यहाँ गोरेटो बाटो निर्माण गर्ने हो कि,त्यहाँ खानेपानी मर्मत गर्नुपर्ने हो कि,त्यो छनोट र योजना चाहिँ टोल विकास संस्थाले गर्ने,वडा कार्यालयले त्यसको संयोजन गर्ने गरेर त्यहीँ टोल विकास संस्थामा जनप्रतिनिधिको नेतृत्वमा त्यो काम गर्छौं।

३)श्रम डेको आयोजना गर्दै गर्दा यसका उपलब्धि के हुन्छन् र केहि चुनौती छन् कि ?
श्रम डे आयोजना गर्दा उपलब्धिको हिसाबले हेर्दा मैले परिवर्तन गाउँपालिकाको पहिलो चरणमा मात्र हामीले आह्वान गर्दा करीब परिवर्तन गाउँपालिकाको आर्थिक लगानीमा हुने करिब ३० लाख रुपैयाबाट हुने कामहरु हामी ८ घण्टा परिवर्तन गाउँपालिका बासी,हामी परिवर्तन गाउँपालिका वडा बासीले गर्ने देखिन्छ । .अर्को कुरा के हो त भन्दा हामी बजेटको हिसाबले ३० लाख बराबर परिवर्तन गाउँपालिकाले खर्च गर्नुपर्ने हामी श्रमजीवीको रूपमा काम गर्दा खेरी त्यो कुरा मुख्य व्यवस्थापन हुने कुरा भयो। अर्को कुरा गाउँपालिकाले खर्च गर्नुपर्ने देखिएन , दोस्रो कुरा के हो त भन्दा जो काम नगरेर खाने हुन्छन् तिनीहरूलाई सम्मान गर्ने संस्थाको अन्त्य गर्छौं र कुटो र कोदालो अर्थात् ८ घण्टा काम गरेर जून खालको बाँच्ने आधार बनाउने त्यस्ता खालका मानिसलाई मजदुर अर्थात् किसानलाई सम्मान गर्नुपर्छ भन्ने विकासको लागि श्रम डेलाई लिएका छौ ।
पक्कै पनि कुनै पनि काम गर्दा चुनौतीहरुको सामना गर्नु पर्ने हुन्छ । हामीले पहिलो पटक काम गर्दैछौं त्यसैले मानिसको बुझाई के छ भन्दा हामी त खेतबारीमा काम गरीराखेका छौँ तर सरकारको आह्वानमा एकैपटक परिवर्तन गाउँपालिका बासीहरुलाई जुरुक्क उठाएर काम गराउने अवस्थामा अलि कठिन हुन सक्छ ।

४)यसको निरन्तरता आगामी दिनमा पनि हुन्छ्की यो बर्ष मात्र हो?
अब मेरो कार्यकाल अथवा हामी अहिले निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिसके पछी के हुन्छ अर्को सरकार बनेपछि प्रमाणित गर्ने कुरा हो ।तर हामी हुँदा सम्म यो बर्षमात्र होइन कि हरेक बर्षको एक दिन श्रम–डे मनाउने गरि हामीले योजना बनाएका छौँ । यसलाई एक ऐतिहासिक दिन बनाउने गरी अघि बढ्नेछौ ।

५)अन्त्यमा केहि ?
पहिलो कुरा त म हजुरलाई धन्यवाद दिन चाहन्छु। “परिवर्तन गाउँपालिकाको आह्वान,श्रममा सम्मान“भन्ने मूल नारा सहित कार्तिक–४ गते हामीले आयोजना गरेको श्रम–डे बारे तपाईको लोकप्रिय मिडियामा प्रकाश पार्ने मौका दिनुभयो । परिवर्तन गाउँपालिकाको गौरवको हिसाबले त्यसमा आम परिवर्तन गाउँपालिका बासी,जनसमुदायहरु,कर्मचारी,शिक्षक,व्यापारी लगाएतले त्यो अभियानलाई,परिवर्तन गाउँपालिकाको सानलाई सहयोग गर्ने गरि कार्तिक–४ गते शुक्रबार ९ बजेदेखि ५ बजेसम्म ८ घण्टा काम गर्ने हिसाबले सम्पूर्ण गाउँपालिकावासीहरु जुट्नुहुनेछ । किनकि त्यो ८ घण्टा हामी आफैंले गरेर हुने हो,कसैले गरेर हुँदैन। राज्यको मात्र होइन संघ सरकार,प्रदेश सरकारको मुख ताक्ने होइन कि स्थानीय तहको सरकारले स्रोत साधनले भ्याएसम्म के काम गर्ने,त्यो मा श्रम मिसायौं भने समृद्धि हुन्छ भन्ने लागेको छ। त्यसैले यो अभियानमा सबैले सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।