टोकियो ओलम्पिकमा २४ वर्षसम्मका फुटबल खेलाडी सहभागी हुन पाउने

चैत २४, २०७६


कोरोना भाईरसको महामारीका कारण एक बर्षपछि सारिएको टोकियो ओलम्पिक गेम्समा सहभागी पुरुष फुटबल खेलाडीको उमेर पनि एक वर्ष बढाइने भएको छ । अब २४ वर्षसम्मका खेलाडीले टोकियो ओलम्पिक खेल्न पाउनेछन् । यसअघि ओलम्पिकमा सहभागी हुने खेलाडीको उमेर २३ वर्षमुनिको हुनुपर्दथ्यो ।

अन्तर्राष्ट्रि«य ओलम्पिक कमिटि (आईओसी) ले ओलम्पिक सरेपछि खेलाडीको उमेर हदमा पनि परिवर्तन गर्न लागेको हो । ओलम्पिकमा महिला फुटबलको उमेरमा भने कुनै नियम छैन । महिला फुटबलमा सिनियर टीमले नै प्रतिस्पर्धा गर्दै आएका छन् ।

आईओसीले विश्व फटबल महासंघ (फिफा) सँग समन्वय गरी पुरुष खेलाडीको उमेर एक वर्ष बढाउन लागेको हो । फिफाले सन् १९९७ जनवरी १ तारिखसम्म जन्मिएका खेलाडीलाई ओलम्पिकमा समावेश गर्ने तयारी गरेको छ ।

यसअघि आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म गरिन लागिएको ओलम्पिक कोरोना भाइरसका कारण एक वर्षपछि सरेको हो । नयाँ तालिका अनुसार टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ तारिखसम्म हुनेछ ।