बलियो माध्यम बन्दै अनलाईन मिडिया

बैशाख ०२, २०७७


ध्रुव राज न्यौपाने ( डि.आर.एन.)

नेपालमा अनलाईन मिडियाको इतिहास वारे अध्ययन गर्दा त्यति लामो छैन । सन् १९९४ मा मर्कन्टायल कम्युनिकेसन प्रा.लि.ले ईमेलको सुरुवात गरेपश्चात नेपालमा अनलाईन मिडियाको सुरुवात भएको हो । ईतिहासलाई सरसर्ती अध्यय गर्दा सर्वप्रथम कान्तिपुर पव्लिकेसन्स अन्तर्गतको द काठमाडौ पोष्टले सन् १९९५ मा मर्कन्टायलकै सहयोगमा पत्रिकामा छापिएको सामाग्रीलाई अनलाईनमा राखेको थियो । यसअर्थ पनि द काठमाडौ पोष्टलाई नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो अनलाईन संस्करण मानिन्छ । यसैगरी सन् १९९९ मा मर्कन्टायल कम्युनिकेसनले नै पत्रपत्रिकामाको समाचार राख्ने गरि नेपाल न्युज डट कमको सुरुवात गर्यो । सुरुवातमा यसले आफैले उत्पादन गरेको समाचार भन्दा पनि पत्रपत्रिकामा प्रकाशित समाचारलाई अपडेट गर्ने गर्दथ्यो । सन् २००० मा सुरु भएको कान्तिपुर अनलाईन डटकमको सुरुवाती संगै नेपालमा अनलाईन मिडियाको विकासमा कोसेढुगां सावित भयो । कान्तिपुर पव्लिकेसन्स प्रा.लि.द्धारा संचालित उक्त अनलाईनले पत्रपत्रिकाको समाचारलाई सम्प्रेषण गर्नुका साथै आफैले उत्पादन गरेका नयाँ सामाग्री समेत अनलाईन मार्फत प्रकाशन गर्न थाल्यो । अहिले यो साईट ई–कान्तिपुरको नामबाट संचालित छ ।


यसरी विकसीत भएको अनलाईन मिडिया वर्तमान समयमा एउटा बलियो संचार माध्यमको रुपमा विकसीत भएको छ ।
अनलाईन मिडिया सबैभन्दा आधुनिक र नविनतम उपलव्धि हो । अनलाईन मिडियाकै कारण समाचार,फोटो,लेख तथा अन्य सामाग्रीहरु मल्टिमिडियाको प्रयोग गरी संसारको जुनसुकै कुनामा सुन्न वा हेर्न सकिने स्थितीको विकास भएको छ अर्थात आज विश्वनै सबैको हात हातमा आएको छ । दुनियाँमा कहाँ के भईरहेको छ भन्ने समाचार तुरुन्त सहज रुपमै थाहा हुने भएकाले पनि अनलाईन मिडिया हावि हुदै गएको छ ।


वर्तमान सन्दर्भमा कुरा गर्दा कोरोनाको कहरका कारण थुप्रै पत्रपत्रिकाको प्रकाशन रोकिएको छ भने यस्ता प्रकाशन रोकिएका पत्रिकाहरुले अनलाईन मिडिया मार्फत सुचना प्रवाह गरिरहेका छन् । यसअर्थमा पनि अनलाईन मिडिया अव सबैभन्दा शक्तिशालि मिडिया भएको छ । संख्यात्मक रुपमा अनलाईन मिडियाको निकै विकास भएको कुरा जगजायरनै छ । अनलाईन पत्रकारीताको विकासले गर्दा नेपाली पत्रकारीता विश्वव्यापी बन्न पुगेको छ । उल्लेख्य संख्यामा अनलाईन मिडियाको विकास हुँदा पाठक,दर्शक,श्रोतालाई छनोटको अवसर पनि प्राप्त भएको छ । अनलाईन मिडियाकै कारण विश्वव्यापी बनेको नेपाली पत्रकारीताका कारण नेपालीहरुले आफ्नो कला,संस्कृति,प्राकृतिक सुन्दरता आदिलाई विश्वव्यापी बनाउने अवसर पनि पाएका छन् । अनलाईन मिडियाको तिव्रतर विकासका कारण नेपाली पत्रकारीताको क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको छ । अनलाईन पत्रकारीताकै विकासका कारण नागरिक पत्रकारीता अर्थात समाचारदाताविहिन पत्रकारीताको आरम्भ भएको छ । अर्थात जो कसैले पनि व्लग मार्फत सुचना तथा जानकारीहरु सम्प्रेषण गरी पत्रकारीता गर्न सक्ने अवस्था सिर्जना भएको छ । पाठक वा श्रोताले आफ्नो फुर्सदको समयमा अनलाईन माध्यम हेर्न वा सुन्न सक्ने भएकाले आज नेपालमा पनि यो लोकप्रिय संचार माध्यम बन्दै गएको छ । नेपालमा रहेका धेरै जसो संचार माध्यमहरु ईन्टरनेट मार्फत अनलाईनमा जोडिएका छन् भने विदेशमा बस्ने नेपालीहरुले पनि अनलाईन मिडिया मार्फत समाचार आदान प्रदान गरिरहेका छन् । आजभोलि को यो प्रतिस्पर्धी बजारलाई आफ्नो दायरामा ल्याउन पत्रिकाकै अनलाईन संस्करणहरु संचालनमा आएका छन् । अनलाईन मिडियाकै कारण पत्रपत्रिका,रेडियो र टेलिभिजनलाई परम्परागत माध्यमको रुपमा समेत चित्रण गर्न थालिएको छ ।


छिनछिनमा नयाँ समाचार अपडेट हुने,गल्ती भएका कुरालाई तुरुन्तै सच्याउन सकिने,धेरै जनशक्ति र लगानीको आवश्यकता नपर्ने आदि विशेषताकै कारण अनलाईन मिडियाको तिव्रतर विकास भईरहेको छ । अनलाईन मिडियाकै विकासका कारणले सम्पूर्ण पत्रकारिता जगतको परिभाषालाई नयाँ मोडमा उभ्याईदिएको छ ।


यसअर्थ पनि अनलाईन मिडिया अन्य मिडियाको तुलनामा बलियो एवं शशक्त मिडियाको रुपमा विकसीत हुदै गईरहेको छ ।