रुसको अस्पतालमा आगलागी, आइसीयूमा रहेका ५ कोरोनासंक्रमितको मृत्यु
रुसको सेन्ट पिटर्सबर्ग अस्पतालमा भएको आगलागीमा आइसीयूमा उपचाररत ५ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । रुसका समाचार एजेन्सीका अनुसार भेन्टिलेटरमा सर्टसर्किट भएर आगलागी सुरु भएको थियो ।
मृत्यु भएका सबै बिरामी भेन्टिलेटरमा रहेको बताइएको छ ।
‘सबै भेन्टिलेटर आफ्नो पूर्ण क्षमतामा काम गरिरहेका छन् । सुरुवाती संकेत अनुसार त्यसमध्ये एक ओभरलोड भयो र आगलागी सुरु भयो,’ सेन्ट पिटर्सबर्गका आपत्कालिन विभागका एक स्रोतले इन्टरफ्याक्स न्युज एजेन्सीलाई जानकारी दिएका छन् ।
सेन्ट पिटर्सबर्गमा ४९ लाख जनसंख्या रहेको छ । त्यहाँ कोभिड–१९ बिरामीका लागि ५ हजार ४८३ शैय्या रहेको छ । शहरमा हालसम्म ७ हजार ७०० संक्रमित फेला परेका छन् जसमध्ये ५६ जनाको मृत्यु भएको छ ।
रुसमा विश्वकै तेस्रो धेरै संक्रमित रहेको छ । सोमबार ११ हजार ६५६ जना संक्रमित फेला परेपछि त्यहाँ २ लाख २१ हजार ३४४ संक्रमित पुगेका छन् । रुसले इटाली र बेलायतलाई पनि उछिनेको छ ।
स्रोत : बीबीसी