प्रिमियर लिग च्याम्पियन लिभरपुलको सिटीसँग लज्जास्पद हार

असार १९, २०७७


हालैमात्र प्रिमियर लिगको विजेता बनेको लिभरपुलले पूर्वविजेता म्यान्चेस्टर सिटीसँग लज्जास्पद हार बेहोरेको छ । गत हप्ता सिटी चेल्सीसँग पराजित भएपछि लिभरपुलको लिग उपाधिका लागि ३० वर्ष लामो प्रतिक्षा अन्त्य भएको थियो । तर, त्यसपछि खेलमा फर्केको लिभरपुल सिटीसँग ४–० गोलअन्तरले पराजित भएको हो ।

खेलको सुरुवातमा ने लिभरपुलले अग्रता बनाउने मौका गुमायो । मोहमद सलाहको प्रहार जाली चुम्न असमर्थ रह्यो । पेप ग्वार्डिओला टोलीले त्यसपछि खेलमा पूर्ण नियन्त्रण बनायो । २० मिनेटमा अन्तरमा ३ गोल गर्दै लिभरपुललाई स्तब्ध बनायो ।

दोस्रो हाफमा एलेक्स ओक्सालेड च्याम्बर्लिनले आत्मघाती गोल गरेपछि सिटीले सहज जित हासिल गर्न सफल रह्यो ।

योर्गन क्लपको नेतृत्वमा लिभरपुलले सबैभन्दा ठूलो हार ईतिहाद स्टेटियममा नै बेहोरेको छ । बिहीबार ४–० को हार बेहोरेको लिभरपुलले सन् २०१७ को सेप्टेम्बरमा ५–० ले पराजित भएको थियो ।

३२ खेलपछि लिभरपुलको ८६ अंक रहेको छ भने सिटीको ६६ अंक रहेको छ ।