मेस्सीको प्रेरणामा लिग उपाधि जित्ने बार्सिलोनाको आशा कायमै

असार २२, २०७७


फर्ममा रहेको भिल्लेरियालमाथि ४–१ को जीत निकाल्दै बार्सिलोनाले ला लिगाको उपाधि जित्ने सम्भावनालाई कायम राखेको छ । जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी ४ अंकमा झार्न सफल भएको हो ।

खेलमा बार्सिलोनाले पाउ टोरेसको आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो । तर, लगत्तै जेरार्ड मोरेनोले भिल्लेरियालका लागि बराबरी गोल फर्काएका थिए । खेलको २० औँ मिनेटमा लियोनेल मेस्सीको पासमा लुइस सुवारेजले बार्सिलोनालाई पुनः अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा मेस्सीले पुनः एन्टोनियो ग्रिजमानका लागि गोलको अवसर सिर्जना गरे । अन्सु फातीले बार्साका लागि चौथो गोल गरे ।

मेस्सीले यो सिजन ला लिगामा १९ एसिस्ट गरेका छन् । पछिल्लो पटक सन् २०१०–११ मा उनले नै एक सिजनमा यति धेरै गोलको अवसर सिर्जना गरेका थिए । खेलमा उनको गोललाई भिडियो एसिस्टेन्ट रेफ्रीले अफसाइड करार गर्दै रद्द गरेको थियो भने खेलको अन्त्यतिर उनको फ्रिकिक क्रसबारमा लाग्न पुगेको थियो ।

चार खेल बाँकी छँदा रियल म्याड्रिडभन्दा बार्सिलोना ४ अंकले पछि रहेको छ । ३४ खेलबाट बार्सिलोनाको ७३ अंक रहेको छ भने रियलको ७७ अंक रहेको छ ।