२०४० को दशकमा चलचित्र उद्योगमा हमालको धमाकेदार इन्ट्री,पहिलो चलचित्रबाटै ‘स्टार’

असार २९, २०७७


२९ असार, अग्लो कद, लामो कपाल र सुगठित शरीरका एक लक्का जवानले नेपाली चलचित्र उद्योगमा धमाकेदार इन्ट्री गरे, २०४० को दशकमा । नाम– राजेश हमाल । आफ्नै मामाले निर्देशन गरेको ‘युगदेखि युगसम्म’ बाट डेब्यू गरेका हमालले अन्तत नेपाली चलचित्रमा ‘एक युग’ नै राज गरे । पहिलो चलचित्रबाटै ‘स्टार’ भएपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । पछाडि फर्केर हेर्ने फुर्सद पनि भएन उनलाई ।

त्यसताका छिमेकी बलिउड चलचित्र उद्योगमा मिथुन नामका नायकको निकै बोलबाला थियो । सुरुमा मिथुनजस्तै लुक्स भनेर हमालको चर्चा भयो । राजदूतको छोरा, विदेशमा एमएम पढेका, अंग्रेजी खरर बोल्न सक्ने, शिव श्रेष्ठभन्दा ठूलो ‘बड्डी’ भएका, फाइट खेल्न माहिर … हमालका बारेमा यस्तै–यस्तै गफ सुन्ने गरिन्थे त्यसबेला । उनै हमालले करिब १५ वर्ष नेपाली चलचित्रमा एकछत्र राज गरे । त्यसपछिका १० वर्षसम्म उनी नायकका रुपमा सक्रिय रहे । तीन वर्षदेखि चाहिँ उनी निस्क्रिय छन् । नेपाली चलचित्रमा ‘हमाल युग’ अन्त्य भएको छ । नेपाली चलचित्रको धार पनि बदलिएको छ । अहिले चल्तीका कलाकारहरु हमालभन्दा फरक शैली र विशेषताका छन् ।

चलचित्रमा सक्रिय नरहे पनि हमाल चर्चाबाट बाहिर भने छैनन् । उनको रोव पहिलेजस्तै छ । एउटा पुस्ताका दर्शकमा उनको क्रेज छँदैछ । यसको जबरजस्त छनक अहिले देखिएको छ, ‘महानायक’ सम्वन्धी विवादमा । १४ वर्षअघि पहिलोपटक हमाललाई ‘रजतपट’ नामक चलचित्रसम्वन्धी टिभी कार्यक्रमले ‘महानायक’ भनेर सम्मान गरेको थियो । त्यसलगत्तै चलचित्र प्राविधिकहरुको संगठन प्राविधिक संघले पनि हमाललाई महानायक सम्वोधन गर्दै सम्मानित गर्यो । संघले त्यसबेला हमाल र नायिका करिश्मालाई संयुक्तरुपमा महानायक र महानायिकाको सम्मान दिने तयारी गरेको थियो । तर, करिश्मा कुनै विवादमा मुछिएका कारण अन्तिम समयमा उनको सम्मान स्थगन गरियो ।

यसरी राजेशलाई दिइएको महानायक उपमालाई नेपाली चलचित्रका दर्शकले सहजै स्वीकारे । तर, बेलाबेखत चलचित्र संवद्ध केही व्यक्तिहरुले यसमा प्रश्न उठाउँदै आएका छन् । यसैको पछिल्लो कडी हो दिपाश्री निरौलाको अन्तरवार्ता, जुन अत्यधिक विवादमा परेको छ । (राजेश हमाल) महानायक हुनुहुन्छ र ? त्यो त तपाईंले बनाइदिनुभएको हो नि,’ दिपाश्रीले अन्तरवार्ताकारलाई अद्र्धठट्टामा भनेकी थिइन् । (अन्तरवार्ताकार प्रकाश सुवेदी तत्कालीन समयमा रजतपटकका सञ्चालक थिए)

कुरा यतिमै कुरा टुंगिएको भए सायद यसलाई ठट्टाकै रुपमा लिएर नजरअन्दाज गरिने थियो । तर, अन्तरवार्ताकारले कुरा तन्काइदिए । दिपाश्री पनि बहकिँदै राजेशविरुद्ध तर्कहरु झिक्न थालिन् । यस क्रममा उनको शब्दचयन र हाउभाउले राजेशलाई हियाउन खोजेको दर्शकले महसुस गरे । हिट सिरिज छक्कापञ्जाको निर्देशक हुनुको अहंकार उनमा स्पष्टै झल्कियो । राजेशलाई चलचित्रमा निरन्तरता नदिएकाले महानायक भन्न नसकिने तर्क दिपाश्रीले गरेकी छन् । उनले भारतका अमिताभ बच्चनको उदाहरण पनि दिइन् ।

अमिताभ बच्चन अझै फिल्म खेल्दै हुनुहुन्छ तर, राजेश हमाल खोई ?’ उनी प्रश्न गर्छिन् । सत्य हो कि राजेश अहिले फिल्ममा सक्रिय छैनन् । पछिल्लोपटक ‘सकुन्तला’ मा अभिनय गरेयता पर्दामा दर्शकले उनलाई देख्न पाएका छैनन् । तर, कुनै पनि नायक–नायिका बाचुञ्जेल फिल्म क्षेत्रमा टिकिरहन सक्दैनन् । भारतका अमिताभ बच्चन पनि एकपटक चलचित्रबाट पलायन भएका थिएन । पछि कमब्याक गरेका हुन् । राजेश हमालको हकमा भन्नुपर्दा उनले चलचित्र क्षेत्रबाट सन्न्यास लिएका छैनन् । चलचित्र निर्माण वा निर्देशनमा आउने विकल्प उनीसँग छ । अथवा अभिनयमै पनि फर्किन सक्छन् । यदि फर्केनन् भने पनि राजेश हमालको महानायक उपाधि संकटमा पर्दैन । किनकी उनले विगतमा दिइसकेको योगदानका लागि यो उपाधि पाएका हुन् ।

सो अन्तरवार्ता दिएदेखि दिपाश्री लगातार ट्रोल भइरहेकी छन् । बारम्बार क्षमायाचना गर्दा पनि उनीमाथिको हमला रोकिएको छैन । हमाल स्वयम्ले अन्तरवार्ता दिएर उनीप्रति कटाक्ष गरेका छन् । केही कलाकारहरुले दिपाश्रीको प्रतिरक्षामा मुख खोलिरहेका छन् । यसरी मुख खोल्नेहरु पनि गालीगलौजको शिकार भइरहेका छन् । सिनेमा जगतकै एउटा कित्तामा गम्भीर बहस पनि भइरहेको छ । बौद्धिक छविका केही सिनेकर्मीले राजेश ‘महानायक’ उपाधिका हकदार हुन् वा होइनन् भनेर तर्क–वितर्क गरिरहेका छन् । यही गिजोलिएको विषयलाई थप गिजोल्ने प्रयास यो आलेखमा गरिएको छ ।

महानायक अर्थात्, शाब्दिक अर्थमा भन्दा नायकहरुको पनि नायक । त्यो भनेको के त ? महानायकको कुनै स्पष्ट परिभाषा छैन । हरेक चलचित्र उद्योगमा एकजना घोषित महानायक हुनैपर्छ भन्ने पनि छैन । भारतमा अमिताभ बच्चनलाई महानायक भन्ने गरिएको छ । त्यसैको सिको नेपालमा पनि गरिएको हो । राजेश हमालको ‘महानायक’ उपाधि औपचारिक मान्यताप्राप्त होइन । पृथ्वीनारायण शाहलाई बडामहाराजधिराज भनेजस्तो वा लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भनेजस्तो उनको नाम अगाडि महानायक जोड्नै पर्ने अनिवार्यता कसैलाई छैन । जस्तो वीपी कोइरालालाई कांग्रेसले महामानव भन्छ, अरुले भन्दैनन् । हमाललाई पनि मन लाग्नेले महानायक भन्न सक्छन्, मन नलाग्नेले नभन्न सक्छन् । त्यसकारण यो गम्भिर बहसको विषय नहुनुपर्ने थियो ।

कलाकारलाई दिइने मान–पद्वीको सार्थकता त्यतिबेला हुन्छ, जतिबेला आमजनताले त्यसलाई स्वीकार्छन् । सरकारले दिने पद्वीभन्दा त्यो बढी अर्थपूर्ण हुन्छ । अहिलेको विवादका क्रममा धेरैले राजेश हमाललाई महानायककै रुपमा स्वीकारेको देखियो, अन्यथा दिपाश्रीमाथि यति चर्को हमला हुने थिएन ।

हमाललाई महानायकका रुपमा स्वीकार्न सकिने केही आधारहरु यस्ता छन् :

– नेपाली चलचित्र उद्योगमा अहिलेसम्मकै सबैभन्दा नाम चलेका कलाकार राजेश हमाल हुन् । उनलाई बच्चादेखि बूढासम्मले चिन्छन् । शहरदेखि गाउँसम्म प्रख्यात छन् । एक हिसाबले उनी आफैंमा ब्रान्ड हुन् ।

– राजेश हमालले नेपाली चलचित्रमा दुई दशकसम्म एकल आधिपत्य जमाए । टाढा–टाढासम्म उनका कोही प्रतिस्पर्धि थिएनन् । प्रतिस्पर्धाको युगमा चलचित्र क्षेत्रको एउटा कालखण्डलाई नै आफ्नो नाममा राख्न सक्नु चानचुने सफलता होइन । एक समय यस्तो थियो कि तरकारीमा नून अपरिहार्य भएजस्तो नेपाली फिल्ममा राजेश हमाल अपरिहार्य मानिन्थे । कतिपय निर्माताहरु उनलाई नायक बनाउनकै लागी फिल्म बनाउँथे । हमाललाई सोचेर स्क्रिप्ट लेखिन्थ्यो । उनको टाउको पोष्टरमा राख्दा मात्रै पनि चलचित्रको व्यापारमा फरक पर्‍थ्यो ।

– राजेश हमाल सुशिक्षित र बौद्धिक व्यक्ति हुन् । जुनबेला उनी चलचित्र उद्योगमा आएका थिए, त्यसबेला मास्टर्स अध्ययन गरेको अर्को कलाकार थिएन । अहिले त धेरै आएका छन् । सायद शिक्षित भएकैले हुन सक्छ कि हमाल धेरै स्क्यान्डलमा पनि मुछिएनन् । करिअरको सुरुआतताका बाहिरिएको नग्न तस्वीरलाई बिर्सिने हो भने उनी स्क्यान्डलबाट सँधै टाढा रहे । लभ अफेयरहरुबाट पनि टाढा रहे । जोसित प्रेम गरे, उसैलाई विहे गरे ।

– हमाल आउनुपूर्व नेपाली चलचित्र सुसुप्त अवस्थामा थियो । नेपाली चलचित्रलाई चलायमान बनाउन र व्यसायिकतामा लैजान उनको ठूलै हात छ । उनलाई खेलाएपछि दर्शक आउँछन् भन्ने विश्वासमा पनि धेरै निर्माताले फिल्ममा लगानी गरेका थिए । यसले नेपाली चलचित्रको संख्यात्मक वृद्धि भएकै हो ।

यो भयो सिक्काको एउटा पाटो । तर, अर्को पाटोबाट राजेश हमाल कसरी महानायक ? भनेर प्रश्न उठाउन सकिने ठाउँहरु उत्तिकै छन् ।

–     कुनै पनि कलाकारमा हुनुपर्ने सबैभन्दा आधारभूत क्षमता हो अभिनय । झन् महानायकमा त उत्कृष्ट अभिनयको खोजी गरिन्छ । हमाल अभिनयमा कमजोर रहे । खासमा उनले अभिनयमा धेरै मिहिनेत पनि गरेनन् । धेरैजसो चलचित्रमा उनको अभिनय र डाइलग डेलिभरी उस्तै पाइन्छ ।

तर, यसमा हमाल एक प्रकारले अभागी पनि हुन् । उनको कालखण्डमा नेपाली चलचित्रमा राम्रा निर्देशकको खडेरी नै थियो । राम्रा निर्देशकको कुरा गर्दा तुलसी घिमिरेपछि दोस्रो नाम लिन मुस्किल पर्‍थ्यो। अहिलेका निश्चल बस्नेत, रामबाबु गुरुङ, दिपेन्द्र के खनाल, प्रदीप भट्टराई जस्ता प्रतिभाशाली निर्देशकसँग काम गर्न पाएका भए सायद हमालबाट फरक अभिनय निकाल्न सक्थे कि । दयाराम दाहाल, अशोक शर्मा, शोभित बस्नेतजस्ता  निर्देशकसँग त्यो क्षमता थिएन ।

–      राजेश हमाललाई बारम्बार लाग्ने गरेको आरोप हो उनले नेपाली चलचित्रको गुणात्मक विकासमा योगदान दिन सकेनन् । यो आरोपमा सत्यता छ । राजेश स्वयम्ल्े स्वीकारेका छन् उनी छानेर चलचित्र खेल्दैनथे । उनलाई चलचित्रको कथावस्तु, निर्देशक, सहकलाकार लगायतसँग मतलव नै थिएन । एकैपटक ३–४ वटा चलचित्रमा पनि अभिनय गरिरहेका हुन्थे । सुटिङस्पटमा पुगेपछि सोध्थे, के छ मेरो डाइलग हँ ?

आज सौगात मल्ल, विपिन कार्की, खगेन्द्र लामिछाने जस्ता कलाकारहरु फिल्म इन्डस्ट्रीमा छन्, जो हरेक चलचित्रको क्यारेक्टरमा भिज्नका ठूलो मेहनत गर्छन् । राजेशले त्यो कहिल्यै आवश्यक ठानेनन् । उनले केवल पैसाका लागि काम गरे । कथा पनि नसुनिकन धेरै फिल्म खेले ।

–      हमालले अभिनय गरेकामध्ये ६० प्रतिशत चलचित्रलाई क्रिटिक्सहरुले सिधै ‘झूर’को श्रेणीमा राख्न सकिन्छ । त्यसपछि ३० प्रतिशतलाई औसत र १० प्रतिशतलाई राम्रा मान्न सकिएला । आफ्ना सम्झनायोग्य १० वटा चलचित्रको नाम लिनुपर्यो भने राजेश हमाल आफैंले कन्नुपर्छ । व्यवसायिकरुपमा सफल भएका उनका धेरै चलचित्रहरु पनि गुणस्तरको कसीमा कमजोर थिए । राजेशको करिअरको इज्जत दुईवटा चलचित्रले जोगाएका छन्– देउता र बसन्ती ।

–      महानायक कहलिएको व्यक्तिबाट देश र समाजले पर्दाभित्र मात्र नभएर पर्दाबाहिर पनि योगदानको अपेक्षा गरेको हुन्छ । राजेशको नायकत्व भने पर्दाभित्र मात्रै सिमित रह्यो । चलचित्र खेलेर उनले आर्थिक सम्पन्नता र लोकप्रियता हासिल गरे । तर, चलचित्र क्षेत्रका व्यक्तिहरु समस्यामा पर्दा उनको अभिभावकत्व खासै देखिएको छैन ।

राजेश हमालले सबैलाई पैसा बाँड्दै हिँड्नुपर्‍थ्यो भन्ने होइन । तर, उनको भौतिक उपस्थिति मात्रै पनि धेरै ठाउँमा मत्वपूर्ण हुन सक्छ । उनले दिने विचार र सन्देश समाजका लागि महत्वपूर्ण हुन सक्छन् । यसमा हमाल चुकिरहेका छन् । लकडाउनका बीच हमालले अन्डरवेयर लगाएर वर्कआउट गरेको तस्वीर सार्वजनिक भयो । त्योभन्दा उनको सन्देशमुलक भिडियो आएको भए फ्यानहरु खुशी हुने थिए ।