परिवर्तन

साउन ०५, २०७७     थम्मन निर्दोषी बस्नेत


मिर्मिरे बिहानी परिवर्तनको छालमा  मध्याह्नको आशा लिएर पौडिदा पौडिदै  कतिबेला अँध्यारो उषाकालमा परिणत हुन्छ पत्तो नै पाउदैन। यसरी नै नवजात शिशुको रुप लिएर धर्तिमा अवतरण भएको शिशु बालापनको लालसामा फुर्किदै किशोरावस्थामा पुगेको पनि पत्तै पाउदैन। परिवर्तनले घेरिएर जवानीले तृष्णा मेटि नसक्दै बयस्क रुपको धारण गर्ने मानव कुन बेला देखि वृद्ध अवस्थामा अवतरण भैसक्छ ख्यालै गर्नै भ्याउदैन। अनिश्चितताको चङ्गुलमा अल्झिएको जीवन थुप्रै निश्चितिताका दलदलमा नराम्ररी फसेको हुन्छ। जिवनका अनगिन्ती निश्चितता मध्यको एउटा शाश्वत सत्य अनि निश्चितता भनेको परिवर्तन नै हो। परिवर्तन न त रोकेर रोकिन्छ न त छेकेर छेकिन्छ। यो अनवरत चलिरहने प्रक्रिया हो। परिवर्तन आफैमा परिवर्तन भैरहन्छ। किनकि यसको प्रवृत्ति नै परिवर्तन हो। यसकारण बुद्धिमान मानिसहरू परिवर्तनलाई आत्मसात गरेर अघि बढिरहेका हुन्छन। यसको इतिहास, वर्तमान र भविष्य खोतल्ने जमर्को हरेक चिजको अस्तित्व खोतल्न पुगिन्छ।

अस्तित्वको सम्बन्धमा  केलाउदा सम्पुर्ण अस्तित्वहरु एउटा ठोस आकृति बनेर रहेको हुन्छ। तथापि यसको गहिराई र निचोडमा पुग्न भने सकिएको जस्तो लाग्दैन।

परिवर्तन जहिले पनि अवसर बोकेर मात्र आउने गर्द्छ। चेतनामा जिउने मानिसहरू त्यही परिवर्तनमा असंख्य अवसरहरु भेटिरहेका हुन्छन। फलस्वरूप पुर्खाहरुको तुलनामा आजको पिढी भौतिक सुख सुविधा भोग गर्दै आएको पाइन्छ। आकाश, पाताल, पृथ्वी लगाएत अन्य ग्रह, उपग्रहहरु भित्र लुकेका धेरै रहस्यहरु खोज्ने अवसर आजको पिढिलाई छ। यसर्थ अहिलेको पुस्ताले उनीहरुको खोज, अनुसन्धान अनि अध्ययनको बिषय बस्तुहरु नै सकिए भन्न पर्ने सानो ठाउँ पनि बचेको छैन। हिजो रहेका रहस्यहरु आज खुले भन्दैमा नया रहस्यहरुको जरा नै सुकिसक्यो भन्नू अगाडी हेरेर पछाडी दौडनु जस्तै हो। जतिबेला बिज्ञान प्रविधिको अंकुरण भएको थिएन त्यसबेला समयलाई मापन गर्ने, दुनियाँलाई बन्द कोठामा राखेर संसार चियाउने जस्ता थुप्रै आधुनिक साधनहरु थिएनन्। अहिलेका जस्ता मानव मस्तिष्क हल्लाउने यन्त्र नभए पनि हाम्रा पुर्खाहरुले जिवनमा प्रचुर सम्भावना देखे, रोजे अनि खोजे । उनीहरुको स-साना परिवर्तनका प्रयासहरुले हामीलाई प्रेरित गरेर आजको यो बैज्ञानिक युगमा प्रवेश गराएका छन। उनीहरुको अटल सोच, काम प्रतिको लगनशीलता अनि भविष्य प्रतिको चिन्तनबाट केही सिक्न सकेनौं भने हाम्रा पुर्खाहरु प्रतिको असम्मान अनादर हुन पुग्द्छ। प्राय सधै अनि सबै चिज एकनासले चल्दैन, चल्नु पनि हुदैन  र चल्न दिनु पनि हुदैन भन्ने संदेशहरु हुन आजका जम्मै परिवर्तनहरु। प्रकृतिको फेरबदल परिवर्तनको एउटा बलियो अनि ज्वलन्त उदाहरण हो। यदि सबै अवस्थाहरु  यथास्थितिमा रहने हो भने कुनै पनि अस्तित्वको रहस्य खोज्नु पहाडको टुप्पोबाट झरेर समुद्रमा मिसिएको झरणालाई बाध बाधेर पुनः त्यही टुप्पोमा पुर्याउछु भन्नू जत्तिकै अर्थहीन र बहुलठ्ठिपन सावित हुन्छ।

आजभोलि परिवर्तनले ल्याउने परिणामहरुको भन्दा पनि परिवर्तन नै खोज्ने अनि रोज्ने प्रायः प्रवृत्ति देखिन्छ। बेगमा गुडेको गाडीहरू अनि वेगमा उडेका यन्त्रहरुले एक्कसी दिशा परिवर्तन गर्नु पर्दा निम्तिने दुर्घटनाहरुको अन्दाज लगाउन जो कोहिलाई पनि प्राय कठिन हुने गर्द्छ। परिवर्तनका नाममा असली जिवनलाई भुलेर परिवर्तित जीवन शैलीलाई बिचारै नगरी अङ्गाल्दा अकल्पनीय तथा अतुलनीय क्षति व्यहोर्नुपरेको दृष्टान्तहरु प्रशस्त भेटिन्छन।

भेषभुषा, बोलीचाली, खानपिन, बाँस स्थान, दैनिक कामकाज, यान्त्रिक कार्यशैली, रितिरिवाज, धर्म संस्कृति अनि चाडपर्वका अभ्यासहरुमा देखिने परिवर्तनले मानव जीवन भन्दा पनि मानव जिवनशैली बदलिएको प्रष्ट देख्न सकिन्छ। जीवन कहिल्यै बदलिदैन किनकि हाम्रो जीवन एउटा थियो एउटा छ र एउटै रहन्छ। बदलिने भनेको त केवल जिवनशैली मात्र न हो। फेरि परिवर्तन समयको माग हो र समय सङ्ग सङ्गै निश्चित अनि बाञ्छनिय परिवर्तन आवश्यक हुन आउँछ। यदि हामीले चाहेको परिवर्तन र पाएको परिवर्तनमा सन्तुलन हुन सकेन भने दुर्घटना अवश्यम्भावी हुने गर्द्छ। अत: जिवनका अपरिहार्य परिवर्तनहरुलाई आकलन र आत्मसात गर्नु बुद्धिमता ठहर्छ। यसो गर्न सकियो भने जीवन सार्थक तथा अर्थपूर्ण बन्द्छ। तर यदि जीवनलाई चटक्कै बिर्सिएर जिवनशैलीको पछाडी अन्धाधुन्ध भाग्ने हो भने आजको कुनै पनि अनुहारहरुले न वास्तविक जीवन बुझ्न सक्द्छन न जिवनको असली रसको अनुभुती नै गर्न सक्द्छन। काचै बस्तुहरु खाएर पचाउने हाम्रा पुर्वजहरुले ढुङ्गा ठोकेर आगो बाल्न सिके। बिस्तारै उनीहरुको जिवनशैलीमा भिन्नता आउन थाल्यो। ढुङ्गे युगबाट गुज्रेका पुर्खाका सन्ततिहरु आज परिस्कृत अनि सभ्य नागरिक कहलाउने भए। पुर्खाले अङ्गालेका जिवनशैलीहरुमा एकै झटकामा उतारचढाव नआएर क्रमश परिमार्जनले बाटो नाप्दै गर्यो। हामीले परिवर्तन नराम्रो हो भनेर आजसम्म केही नगरी बसेको भए ढुङ्गाको साटो सलाई, ग्यास लाईटर हुँदै विद्युतीय चुलो सम्म हाम्रो पहुच पुग्ने थिएन। यसबाट हामीले सिक्नुपर्ने पाठ भनेको परिवर्तनले महत्त्व घटाउनु हुदैन बल्की परिवर्तनले ल्याएको अवस्थाको महत्त्व अझ चुलिनु पर्द्छ। प्राचीनकालमा आफ्नो अस्तित्व जोगाउन र शक्तिको प्रभावले विश्व जगतमा राज गर्न भीषण युद्धहरु छेडिए। लाखौं ज्यानहरुको एउटै चिहान बनाइयो। जुनसुकै नामले सम्बोधन गरे पनि ती युद्धहरुले परिवर्तनको खाका कोरेको पाइन्छ। युद्ध आफैमा राम्रो नभएता पनि युद्धले स्थापना गरेका मूल्य मान्यताहरुले आफ्नै छाप छोडेका छन। अझै पनि ती युद्धहरुको महत्त्व कम भएको छैन। विविध माध्यम वा बाहनामा तिनै इतिहासहरुलाई साक्षी राखेर आफ्नो बर्चस्व कायम गर्न खोज्नेहरु अझै पनि कम देखिदैनन। मित्रता वा युद्धको सन्देश कपडामा लेखेर दुतहरुको माध्यमबाट सन्देश प्रवाह गरेको इतिहासको महत्त्व बुझेर अध्ययन गर्ने आजको पिढी हत्केलामा ब्रह्माण्ड बोकेर हिड्नु सानो परिवर्तन होइन। परिवर्तनकै जगमा उभिएर सन्देश बाहक मानव हुँदै हुलाकको प्रचलन ल्याएर चिठी पत्र आदानप्रदान गर्ने संचारको दुनियाँ  क्रमशः रेडियो, टेलिभिजन,टेलिफोन, मोबाइल फोन, हुँदै नेट ईन्टरनेटको प्रयोग आजको जिवनशैली भैसक्यौ। प्रविधिले ल्याएको यति  बिघ्न परिवर्तनले पनि संचारको महत्त्वलाई अधिक भन्दा अधिक बढाएको छ। कहि कतै घटाएको पाईदैन। यसले हामीलाई विश्व नागरिक बन्न सहयोग गरेको छ। भुगोल, भाषा, भेष, धर्म, संस्कृति, रितिरिवाज, परम्परा अनि बिचारले मानिसको जिवनशैली बदल्न लालायित गराउद्छ। आजको मानवलाई विश्व नागरिक बन्न भुगोल, कद, वर्ण, जात र धर्मले रोक्न नसक्नु पनि मानिसको चेतनमा आएको ठुलै परिवर्तन मान्न सकिन्छ। सामन्यत पुजीले चलाएको र हल्लाएको वर्तमान विश्व जगतमा आम मानिसले जिवनका हरेक पाटाहरुमा नया दिशामा चल्न चाहन्छन।

चलन चल्तीका नोटहरुको कुरा गर्दा पनि तुलनात्मक रुपमा मानिसहरू पुरानो नोटहरू भन्दा नया नोटहरू  राख्न रुचाउँछन् यद्यपि यसो गर्नुले पुरानो नोटको मूल्य कम भएको भने हुदैन। यथार्थमा एउटा निश्चित समयमा निश्चित मुल्य बोकेका हरेक बस्तुहरुको समयको अन्तराल सङ्गै मुल्य र महत्त्व झन बढेर जाने गरेको बहुसंख्यकलाई ज्ञान हुनु पर्द्छ।

वास्तवमा तिनै पुराना वा ऐतिहासिक नोटहरू, बस्तुहरुको महत्त्व र मूल्य दुवै कम हुनुको साटो बहुमुल्य हुन गैदिन्छ।आमासँगको क्षणिक बिछोडमा बुवाको न्यानो स्पर्शले पनि शान्त नहुने त्यही शिशु तड्पिएर जोड जोडले रोएको कथा एउटा बिन्दुमा पुगे पछि अर्थहिन बन्न पुग्द्छ।  जिवनशैलीमा आएका परिवर्तनहरुले मानिसहरू बलजफ्ती हिजोलाई बिर्सन्छन। आजको परिवर्तनमा हिजो कुनै हात हुदैन झै गर्द्छ्न। जिवनशैली बदलियो भनेको जीवन बदलिएको त होइन नि। जिवनशैलीमा जति न सुकै परिवर्तन भए पनि प्रकृतिबाट अछुतो भएर र कोहि जिउन सक्दैन नि। आखिर हामी सबैको यात्राको अन्तिम गन्तव्य भनेको  चिहान सम्म न हुन्छ। मैले दोस्रो आखाहरुलाई आफ्नो जीवनशैलीले  झुक्याउदै गर्दा पनि मैले मेरो जीवन त  कदापि लुकाउन सक्दिन।

जीवन त यहि एउटा न हो। मानव जगतको सुरुवात देखि अहिलेसम्म दुईवटा जीवन कस्को पो देखिएको छ र? भ्रुणले आकार लिएर  शिशु, बालक, किशोर, बयस्क हुँदै बृद्ध बन्ने प्रत्येक मानव आज शारीरिक परिवर्तन सङ्ग सङ्गै उसको जिवनशैलीमा आएको परिवर्तनले उसको हृदयलाई अनि मस्तिष्कलाई साच्ची परिवर्तन गर्न कोसिस गर्दा गर्दै कुनबेला अस्ताउने समय आउँछ थाहै पाउदैन। यसरी मानिसले आफुलाई राम्रोसँग बुझ्नै नपाएर अस्तित्वको अन्तिम यात्रामा समाधिस्थ हुन्छ। त्यो अन्तिम पल सम्ममा पनि मानिसले जीवन कहिल्यै परिवर्तन हुदैन, परिवर्तन हुन्छ त केवल उसको जिवनशैली भन्ने कुराको हेक्का राख्न बिर्सिदिन्छ। त्यही परिवर्तित जिवनशैलीको आडमा हुङ्कार मच्चाउदै जिवनलाई त्यागेर परिवर्तित जिवनशैलीलाई अङ्कमाल गर्न रत्तिभर पछि पर्दैन। इतिहास बोकेको मानव अस्तित्वलाई निमेष भरमा समाप्त गरिदिन्छ परिवर्तनको लालसामा लपेटिएर।