“स्वर्णिम पल”

साउन ०८, २०७७     अनिमा बैद्म(थापा)


हाम्रो जीवनमा अनेकौ पलहरु आउँछन् । कति पल दुखका आउँछन् त कति पलहरु सुखका आउँछन् जुन पलहरु समयसँगै विलिन भएर जान्छन् । तर कतिपय पलहरु यस्ता पनि हुन्छन् जस्ले हाम्रो जीवनमा एउटा मिठो छाप छोडेर गएका हुन्छन् । अहिले पनि सम्झदा त्यही समयमा फर्किन मन लाग्छ । त्यही जीवन फेरी एक पटक बाँच्न मन लाग्छ । अनि त्यही वालापनमा हराउन मन लाग्छ । साँच्चै कति मिठो थियो त्यो पल,न कुनै चिन्ता,न कुनै प्रवाह बस् हाँस्यो ,खेल्यो,रोयो । मेरो लागी त जीवनको सबैभन्दा स्वर्णिम पल भनेकै मेरो वालापन हो ।

“कहाँ आउछ र घुमेर मेरो वालापनको उमेर“ जब जब म यो गीत सुन्छु सबथोक बिर्सिएर बालापनमा फर्किन्छु । बालापनका ति लोभ लाग्दा कृयाकलापले मनलाई नै आनन्दीत तुल्याउँछ । मलाई पनि ति साना नानी बाबु जस्तै बिना कुनै संकोच,बिना कुनै लाज बिना कुनै चिन्ता निसन्देह भएर खेल्न मन लाग्छ,उफ्रन मन लाग्छ,दिल खोलेर हाँस्न मन लाग्छ । अनि चिच्याइ चिच्याइ रुन पनि लाग्छ ।

साँच्चै कति मिठो छ बालापनको त्यो सम्झना अनि कति प्यारो छ त्यो मानसपटलको स्मृति । यदि समय फर्केर आउँने भए म त सबथोक त्यागेर बालापनमा फर्किन्थे । अनि एक पटक त्यो स्वर्णिम पललाई पूर्णरुपले जीउँन चाहान्थे । जहाँ न कुनै बन्देज छ ,न कुनै बन्धन । खुल्ला आकाशमा उडिरहेको स्वतन्त्र पंक्षि जस्तै ।

बालापनका ती साथीहरु कति प्रिय लाग्ने । आफैभन्दा प्यारो अनि आफ्नै घरका सदस्य भन्दा पनि नजिक महसुस हुने । एउटा चकलेट नै किन नहोस् कपडाले बेरेर दातले टोकेरै भएपनि आधा आधा खानै पर्ने ।

कहिले काँही ठुस्केर १,२ दिन नबोले पनि कसरी बोल्ने होला भनेर बाहाना खोज्थ्यौ । सम्झदा पनि हाँसो लाग्छ,कति विचित्रका कृयाकलाप गथ्र्यौ । मलाई आजै जस्तो लाग्छ । बुइकलमाथी गएर लुकेर आगो बाल्थ्यौ । जब धुरीबाट धुँवा निस्कन्थ्यो अनि आमाले थाहा पाएर लौरोले चार्नु हुन्थ्यो । त्यसपछि हामी पनि भएभरको बल लगाएर भाग्थ्यौ । त्यती मात्र कहाँ होर, बारीमा होस् अथवा कुलाको छेउ अरुले खैनी खाएर फालेको डिब्बामा भात पकाएर खान्थ्यौ । त्यो खैनीको डिब्बामा कति भात पाक्यो होला कति हामिले खायौँ होला । सम्झदा पनि अचम्म लाग्छ ।
त्यति बेला अहिलेको जस्तो इन्टरनेट,मोबाइलको सुबिधा कहाँ थियोर । वर्षमा एक दुई पटक हामी दिदीहरुसँग हलमा फिल्म हेर्न जान्थ्यौ । कति धेरै मानिसको भिड हुन्यो कहिलेकाही त चप्पलको फित्ता नै चुडिन्थ्यो । बल्लतल्ल भित्र पस्यौ भने पनि बस्ने सिट नहुने अनि भुईमा बसेर फिल्म हेथ्र्यौ । फिल्म त्यस्तै सेन्टिमेन्टल सिन आयो भने सिगान बग्ने गरी रुन्थ्यौ ।

जुन मजा लुकामारी खेल्नुमा छ, जति खुसी खुट्टी,चारी खेल्नुमा छ त्यो आनन्द बन्द कोठा भित्र मोबाइल हेर्नुमा कहाँ छ र ?

त्यतीबेला हामीले खेल्दा खेल्दै पनि धेरै कुरा सिकिरहेका हुन्यौ ।कसरी साथीहरुसँग मिलेर बस्ने ,कसरी बाटेर खाने , कसरी सामाजिक हुने यी सबै कुरा हामीले थाहै नपाइ सिकिरहेका हुन्थ्यौ । तर अहिलेका केटाकेटीमा न कुनै संस्कार न कुनै आचरण छ । किनकी उनीहरुले सामाजीकीकरणको वातावरण नै पाएका छैन ्।उनीहरुको साथी भनेपनि त्यही मोबाइल हो अभिभावक पनि त्यही मोबाइल हो । बिहान उठ्नेबित्तिकै मोबाइल, राती सुत्ने बेला मोबाइल अनि कहाँ बाट उनिहरुमा सामाजीक भावना आउँछ । म आफुलाई भाग्यमानी ठान्छु कि मेरो बाल्यकाल बन्द कोठाभित्र बितेन

मलाई अझैपनि याद आउँछ । हामी प्रत्यक बर्ष साउनको १ गते “बयलडारी”खेल्थ्यौ । बिहे हुन लागेको घरमा भएजस्तै भ्याइनभ्याइ हुन्थ्यो हामिलाई । पैसा उठाएर जम्मा पार्नु पर्ने, पतङगा गाँस्नुपर्ने, दुलादुलैकोलागी कपडा खोज्नुपर्ने अनि खानेकुरा के के पकाउने,के के बनाउने भनेर जोहो गर्नुपर्ने । कहिलेकाही त दुलहि बन्नको लागी झगडा पनि गथ्र्यौ । साडी, चुरा, लगाएर राम्री बन्ने कति धेरै रहर हुने ।साँच्चै कति रमाइला थिए ति दिनहरु ।

आज सोच्छु हामीले हिजोका दिनमा जानी नजानी जे जे गर्यौ सबै सामाजीकरणको शुरुवात पो रहेछ ।हिज आफै भन्दा पनि प्रिय लाग्ने ती बालापनका साथीहरु अहिले सबै आ –आफ्नो कर्ममा वयस्त छन् । त्यतीबेलाको त्यो अमिट मित्रता,त्यो अगाध माया बिस्तारै –बिस्तारै समयसागै हराउदै गयो ।किनकी मान्छे जब बुझ्ने हुन थाल्छ तब उसको काधमाथी जीम्मेवारी थपिदै जान्छ ,नाम र दामकोलागी मान्छे स्वार्थी बन्न थाल्छ अनि मान्छे सम्बन्ध जोड्दा पनि नाफा र घाटा खोज्न थाल्छ ।

कहिलेकाही त लाग्छ,हामी सबैको सोच ति निर्दोष बालबालिका झै भइदिए यो संसार कति सुन्दर हुने थियो । किनकी उनिहरुलाई न कसैको डाहा छ न कसैको ईष्या ।न उनिहरुलाई कसैसँग प्रतिस्पर्धा गर्नु छ , न कसैको चियोचर्चो नै गर्नु छ । त्यसैले त बालबालिकालाई भगवानको रुप भनिन्छ ।

जिम्मेवारीले थिचिएको मान्छेको जीवन समस्यै समस्या भित्र रुमलिएको हुन्छ । जीवनका अभावहरु पुरा गर्नको लागी दौडिरहेको यो कति बेला कुन मोडमा ठेस् लागेर समाप्त हुने हो केहि थाहा छैन ।यस्तै विरक्त लाग्दा त्यो बालापनको याद आउँछ । एक छिन सबै थोक बिर्सिएर लामो श्वास फेरेर त्यही पलभित्र हराउन मन लाग्छ । त्यही स्वर्णिम पललाई जीवनको अन्त्य सम्म कैद गर्न मन लाग्छ ।