विश्‍व च्याम्पियन फ्रान्स फिनल्यान्डसँग २-० ले पराजित

कार्तिक २७, २०७७


लन्डन — नेसन्स लिगको तयारीमा रहेको फ्रान्स मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा घरेलु मैदानमा फिनल्यान्डसँग बुधबार २–० ले पराजित भएको छ । यससँगै विश्व च्याम्पियन फ्रान्सको १२ खेलको अपराजित यात्रा पनि टुंगिएको छ ।

फिनल्यान्डको जितमा मार्कस फोर्स र ओनी भालाकारीले गोल गरे । फिनल्यान्डले फ्रान्सलाई हराएको यो पहिलो पल्ट हो । फ्रान्सले पूरा खेल आफ्नो नियन्त्रणमा राखे पनि हार टार्न नसकेको हो ।

नयाँ टिमका रूपमा उत्रेको जर्मनीले भने चेक गणतन्त्रलाई १–० ले हराउन संघर्ष गर्नु पर्‍यो । जर्मनीले आफ्ना अधिकांश प्रमुख खेलाडीलाई आराम दिएको थियो । टिमका लागि विजयी गोल भने लुका वाल्डसमिडट्ले गरे ।

नेदरल्यान्ड्स र स्पेनबीचको अर्को महत्त्वपूर्ण खेल भने १–१ को बराबरीमा टुंगियो । डच टिमका लागि डोनी भान डे बिकले बराबरी गोल गरे । स्पेनले सर्जियो कनालेसको गोलमा अग्रता लिएको थियो ।