नेपाल र बंगलादेश बीचको खेल आज

कार्तिक २८, २०७७


काठमाडौं । नेपाली राष्ट्रिय टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा छ । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज (शुक्रबार) बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

कोरोना भाइरसको महामारीबीच नेपालले आठ महिनापछि फुटबल प्रतियोगिता खेल्न लागेको हो । ढाकास्थित बंगबन्धु रंगशालामा हुने दुई टोलीबीचको खेल नेपालीसमय अनुसार अपराह्‍न ४:४५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछन् । लामो समयपछि मैदान फर्किएको नेपाली टोली आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा छ ।

नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले पाएका छन् । नेपालका मुख्य प्रशिक्षक योहान कालिन अनुपस्थित भएका कारण उनले प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

बंगलादेश पनि आजको खेलमा जित निकाल्दै घरेलु टोलीको प्रदर्शन राम्रो बनाउने योजनामा छ । दुवै टोली लामो समयपछि मैदान फर्केका हुनाले खेलाडीको प्रदर्शन कस्तो हुने भन्‍ने हेर्न बाँकी छ ।