‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सात खेलाडी सम्मानित

कार्तिक २९, २०७७


काठमाडौं । १३औं दिक्षण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सात खेलाडी ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट यस वर्ष सागका स्वर्णधारी सात खेलाडीलाई सम्मानित गरेको हो । 

सम्मानित हुनेमा दोहोरो पदकधारी खेलाडी करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुबास तामाङ छन् ।

त्यस्तै आइएक्लिङकी लक्ष्मी मगर, शारीरिक सुगठनका समिर श्रेष्ठ, भारोत्तोलनका विकास थापा र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन् । 

प्रशिक्षकमा भने करातेका कुशल श्रेष्ठ र तेक्वान्दोका नविन कुमार श्रेष्ठ रहेका छन् । निर्णायकमा जुडोका धर्म कुमार श्रेष्ठ सम्मानित भएका छन् । त्यस्तै खेल संघमा गल्फ रहेको छ । चिकित्सातर्फ भने डा. ज्ञानेन्द्र विक्रम शाह रहेका छन् ।

‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित हुने खेल प्रायोजकमा काठमाडौं महानगरपालिका र कतार एयरवेज छन् ।

मन्त्रालयले आवेदन आएका २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ गरी जम्मा ५२ बाट पुरस्कृत हुने नामावली छनोट गरेको हो ।