पौष १० बाट एकतर्फी रुपमा सिनेमा हल खोल्ने चलचित्र संघको घोषणा

मङि्सर २९, २०७७


चैत्रको ११ गतेबाट बन्द रहेका हलहरु पौषको १० गतेबाट एकतर्फी रुपमा खोल्ने घोषणा चलचित्र संघले गरेको छ । हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै बन्द रहेको ९ महिनापछि हल खोल्ने घोषणा गरेको हो ।

सरकारले बारम्बार आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै एकतर्फी हल खोल्ने घोषणा गर्नुपर्ने अवस्था आएको संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । चलचित्र संघका महासचिव अशोक शर्माले पत्रकार सम्मेलनमा भने–‘सरकारसँग हामीले विगत ७ महिनादेखि माग राख्दै आएका छौ । हरेक पटकको भेटमा हामीलाई आश्वासन मात्र दिने काम भयो । अब बाध्य भएर हामी हल खोल्ने निर्णयमा पुगेका हौ ।

पौष १० गते हल खोल्दा सरकारले बन्द गराउन खोजेमा आफूहरु गिरफ्तारी दिन पनि तयार रहेको अशोकको भनाई छ । व्यवसायीहरुले अहिले ५० प्रतिशत अकुपेन्सीमा सुरक्षा मापदण्ड अपनाएर हल खोल्ने तयारी गरेका छन् । पत्रकार सम्मेलनमा शर्माले भने–‘अहिले नै हामीलाई हलमा दर्शकको मारामार भिड हुन्छ भन्ने लाग्दैन । तर, हल खोल्दा चलचित्र क्षेत्र चलायमान हुने वातावरण बन्छ, यसैले, यो निर्णय गर्न वाध्य भएका हौं ।

चलचित्र संघका अध्यक्ष प्रधानले ९ महिना हल बन्द हुँदा हल व्यवसायीलाई २ अर्ब भन्दा बढी घाटा लागेको बताए । हलमा के चलाउने भन्ने बिषयमा महासचिव शर्मा भन्छन्–‘अहिले हामीले पुरानै चलचित्र भएपनि चलाउँछौ । हलहरु पनि दर्शकको अकुपेन्सी अनुसार चल्छन् । अहिले देशभर १९५ पर्दा छन् । सबै हलका सबै पर्दा सुरुवातमै संचालनमा आउँदैनन् । तर, हरेक हल दर्शकको अकुपेन्सी अनुसार संचालन गर्नेछौ ।

चलचित्र संघले यसलाई आन्दोलनको सुरुवाती चरणको रुपमा वुझिदिन पनि आग्रह गरेको छ । पौष १० गतेबाट हल खोल्ने निर्णय सँगै चलचित्र संघले सरकारसँग विभिन्न मागहरु पनि राखेको छ ।जसमा चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने, चलचित्र घर संचालन नभएको अवधिको विद्युत महशुलको डिमाण्ड चार्ज पूर्णरुपमा मिनाहा हुनपर्ने, मौद्रिक नीति चलचित्र क्षेत्रमा अनिवार्य रुपमा कार्यन्वयन हुनुपर्ने, चलचित्र प्रदर्शन व्यवसायकले उद्योगको मान्यता पाउनुपर्ने,

मनोरञ्जन कर खारेज हुनुपर्ने, दुई बर्षसम्म नेपाली चलचित्रमा मुल्य अभिवृद्धी कर मिनाहा हुनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनुपर्ने, बाँकी बक्यौता कर तथा शुल्कहरु २०७८ साल अषाण मसान्तसम्म वुझाएमा सम्पूर्ण जरिवाना मिनाहा हुनुपर्ने, चलचित्र घरको लागि आवश्यक उपकरण तथा सामाग्रीहरुमा भन्सार महसुल छुट हुनुपर्ने लगायतका छन् ।