दाङमा आजदेखि ९ दिन ‘लकडाउन’

बैशाख १७, २०७८


दाङमा आजदेखि ९ दिनसम्म पूर्ण लकडाउन हुने भएको छ । बिहानैदेखि दाङका मुख्य सहरी क्षेत्र सुनसान छन् ।

दाङका मुख्य–मुख्य चोकमा सुरक्षाकर्मीले कडाइका साथ चेकजाँच गरिरहेका छन् । लकडाउन कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा मंगलबार घोराहीमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वैशाख १७ देखि २५ गते बेलुका ६ बजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको थियो ।

दाङमा कोरोनाभाइरसको संक्रमन तीव्र गतिमा बढ्दै गएपछि नियन्त्रण र रोकथामका लागि ९ दिन लकडाउन घोषणा गरिएको हो । जिल्लामा अहिले एक हजार १४१ सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितको संख्या चार हजार २८५ पुगेको छ । हालसम्म तीन हजार १०६ जना निको भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

तस्बिर : शरद रेग्मी

मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले तुलसीपुर र घोराही उपमहानगरपालिकामा अक्सिजनसहितको ४०/४० बेडको आइसोलेसन र जिल्लाका अरु ८ पालिकाहरूमा २०/२० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको थियो । बैठकले बेलझुन्डी कोरोना विशेष अस्पतालाई ६५ बेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १०० बेडको बनाउनेलगायत निर्णय गरेको थियो ।