पत्रकार चेतन रेग्मीको कोरोना अनुभव: कोरोना लाग्दा र जित्दाको त्यो खुशी

जेठ १०, २०७८     चेतन रेग्मी


आज २०७८ साल जेठ १० गते पिसिआर रिपोर्ट निगेटिभ आएको छ । योसँगै म कोरोनाबाट पूर्णरूपमा मुक्त भएको छु। हिजो बेलुका देखि मेरो स्वास्थ्य सामान्य अवस्थामा फर्किएको छ । मैले दुइवटै खोप लगाएको थिए । शरीरमा कोरोनाको कुनैपनि लक्षण देखिएको थिएन । मुख सुख्खा भई रहेको थियो सामान्य घाँटी दुखेको थियो त्यसैले कोरोना टेस्ट गर्ने निधो गरियो । वैशाख १८ गते एन्टिजेन टेस्ट गरियो रिपोर्ट पोजेटिभ आयो र १९ गते पिसिआर टेस्ट गरियो रिपोर्ट पोजेटिभनै आयो । लक्षण नदेखेकाले जिंक र भिटामिन बाहेक अन्य औषधि लिनु पर्ने आवश्यक भएन । जोरोसम्म नआएर दर्द पनि केही नभएतापनि भाइरसले धेरैभन्दा धेरै दुःख दियो । श्वासप्रश्वासमा कठिनाई हुनुका साथै अत्यधिक भयभित बनायो । मोबाईलको सानो यसयमयस, रिंगटोन देखि सडकमा गुडिरहेको एम्बुलेन्सको साइरन जस्तो आवाजले समेत गम्भीर अवस्थामा पुर्याउने गर्दथे । प्रशासनले निषेधाज्ञा जारी गरेको छ, सडक सुनसान छ, घर घरमा कोरनाका विरामीहरु छन् तैपनि साइरन बजाउन के आवश्यक थियो होला जस्तो लाग्छ।
म होम आइसोलेसनमा रहँदा धेरै साथीहरूको फोन उठाउन सकेन,त्यसको लागि माफी चाहन्छु । फोन उठाउँदा गाह्रो महसुस हुने र शुभचिन्तकहरुले सुनाएका विभिन्न किसिमका खबर र जिज्ञासाहरुले मनमा भय पैदाहुने भएकाले आत्मबल बढाउन फोन अफ गरेको थिए ।
स्वास्थ्य सम्बन्धी समस्याको लागि जतिबेला पनि उपचार गर्न तयार हुने आदरणिय दाजु राजेन्द्र श्रेष्ठ,आफू आइसोलेसनमा रहेकै समयमा बिहानदेखि बेलुका सम्मको कार्यतालिका सहित आत्मबल बढाउन आग्रह गर्ने प्रिय भाई धुर्बराज न्यौपाने,अब दुईदिन मात्र धैर्य गर्नुस भन्दै सान्तोना दिनुहुने दादा संगित बस्याल, जडिबुटी उपलब्ध गराउने भतिज अर्जुन रेग्मी, समयमै अक्सिमिटर उपलब्ध गराउने छोरी सृष्टिलाई धेरै धेरै धन्यवाद । त्यसैगरी विभिन्न माध्यमबाट पटकपटक सम्पर्क गरि हौसला प्रदान गर्नुहुने नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, कोषाध्यक्ष शरद रेग्मी,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम,चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुन, उपाध्यक्ष सन्तोष केसी लगायत विभिन्न मध्यमबाट स्वास्थ्यलाभको कामना गर्नुहुने तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद।
भगवान पशुपतिनाथको कृपा, स्वर्गीय बुवाआमा, मान्यजनको आशीर्वाद र साथीभाईको मायाले स्वास्थ्य लाभ भएको छ । यस् अबधिभर मलाई मायाका साथ, दिन रात नभनी हेरचाह गर्ने श्रीमती कमला रेग्मी,साली शान्ता न्यौपानेलाई बिशेष धन्यवाद । दिदीहरू, दाजुहरु घनश्याम रेग्मी,टंक रेग्मी, जन्म दिने आमाले जस्तै माया गर्ने साइलिआमा टिका रेग्मी, साथिभाइ, इस्टमित्रहरु शुभचिन्तक सबैलाई मनै देखि नमन।
कोभिड सङ जुधिरहेका सबैको स्वास्थ्य लाभको कामना गर्दछु । पर्याप्त मात्रामा पानी, झोलिलो पौष्टिक आहार खानेकुरामा जोड दिँन अनुरोध गर्दछु । निरन्तर ब्यायाम गर्न सुझाव समेत दिन चाहन्छु साथै उच्च मनोबलका साथ रहन आग्रह गर्दछु । धन्यवाद ।।

यसरी लाग्यो कोरना
२०७८ बैशाख १८ गते बिहान राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा म समाचार संकलनको लागि गएको थिय । त्यहा कोरोनाको आशंकामा स्वास्थ्य-परीक्षण गराउनेहरूको लामो लाइन थियो । स्वास्थ्यकर्मीहरु निकै मेहनत गरेर खटी रहनु भएको थियो । तैपनि थुप्रै कमजोरीहरु त्यहाँ प्रष्टै देखिन्थे । दुरी कायम गरिएको थिएन, स्वास्थ्यकर्मीहरुले आग्रह गरिरहेका थिए, सर्वसाधारणहरुले त्यसलाई वास्ता गरेका थिएनन् । त्यो दिन म बिहानदेखि दिनभर त्यहाँ भइरहेका सबै गतिविधी नियालीरहेको थिए । सर्वसाधारणहरुले ६-७ घण्टा कुर्दासम्म पनि पालो नआएको गुनासो गरिरहेका थिए ।
त्यहीबीचमा मलाई पनि घाटि हल्का दुखेको आभास भयो । दुखेको कारणभन्दा पनि टेस्ट गर्ने जिज्ञासा बढी पलायका कारण टेस्ट गरे । तत्काल नतिजा प्राप्त हुने एन्टीजेन टेष्टको रिपोर्ट दिनपनि २४ घण्टा लगाइयो । यद्यपी समाचार संकलनका लागि त्यहाँ पुगेका अर्का एकजना पत्रकारले मलाई अनौपचारिकरुपमा टेस्ट गरेकै दिन पोजिटिभ रिपोर्ट आएको अनौपचारिक जानकारी गराइसकेका थिए । जानकारी पाएलगत्तै मैले हाम्रा परिवरिक सल्लाहकार स्वास्थ्यकर्मी आदरणीय दाजु राजेन्द्र श्रेष्ठको सल्लाहमा केही भिटामिन र एउटा एलर्जीको औषधि सुरु गरे । औषधि सुरु गरेलगत्तै मेरो घाँटी दुख्ने समस्या समाधान भयो र ममा अन्य कुनै लक्षण देखिएको थिएन । म दुविधामा परे पिसिआर गरौं कि नगरौं भनेर । थुप्रै साथीहरूको सल्लाले घोराही पुगेर पिसिआर गरे रिपोर्ट पोजेटिभनै आयो । घोराहीमा त झनै बिजोग रहेछ, बाहिर लकडउन भित्र मेला । परीक्षण गर्न आएकाहरुको धकेलाधकेल ठेलमठेल । सम्भावित संक्रमित भएको स्थानमा किन तेती धेरै लापरबाही ? त्यही काम खुल्ला ठाउँमा गरेको भए धेरै जना संक्रमणको जोखिमबाट बच्थे कि । समयमा थाहा पाएका कारण, म धेरै गम्भीर अवस्थामा पुग्न बाट बचे, मैले आफ्नो परिवार र समाजलाई संक्रमित हुनबाट बचाए । शरीरमा कुनै पनि लक्षण नदेखिए पनि, भाइरसले सिधै फोक्सोमा आक्रमण गरेको रहेछ । तेस्रो दिनदेखि पाँचौं दिनसम्म म निकै गम्भीर अवस्थामा पुगे । छैठौँ र सातौँ दिनमा मेरो स्वास्थ्यमा सुधारको संकेत देखियो । ८ देखि १० औं दिनसम्म कुनै कुनै बेला सामान्य समस्या दे११औ दिनदेखि स्वास्थ्यमा धेरै सुधार हुँदै गयो र बाँचिन्छ भन्ने आशा पलायो । १५औ दिनदेखि सामान्य छाती दुख्ने र सामान्य पेट खराब हुनेक्रम २२औ दिन दिउँसो सम्म चल्यो । हिजो बेलुका देखि म पूर्ण रुपमा स्वस्थ भएको महसुस गरेको छु ।

तत्काल नतिजा थाहा हुने, निशुल्क परीक्षण गर्ने भएकाले सर्वसाधारण पनि पहुँच पुग्ने, एन्टीजेन टेष्टलाइ पुनः सुचारु गर्न म तुलसिपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे लाई म आग्रह गर्दछु । र यसलाई सिको गर्न अन्य पालिकाहरुलाई पनि आग्रह गर्दछु । तपाईं पनि महामारीको कुनै पनि सामान्य लक्षण देखेको छ भने समयमा नै परीक्षण गराउनुस् । यदि समयमा थाहा भयो भने अक्सिजन र भेन्टिलेटर सम्म पुग्नुपर्ने हुनेछैन । आफू बचिन्छ,आफूबाट आफ्नो परिवार बच्छ र सिंगो समाज अनि देश बच्नेछ त्यसैले समयमै परीक्षण गराउँ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका संस्थापक उपाध्यक्ष समेत रहेका पत्रकार चेतन रेग्मीको फेसबुक वालबाट साभार ।।