मिनि विश्वकप (युरोकप) पहिलो पटक ११ देशमा आयोजना हुँदै

जेठ १३, २०७८


१३ जेठ, काठमाडौं । मिनी विश्वकपको रुपमा चर्चित युरोकप फुटबल पहिलो पटक युरोपका विभिन्न ११ देशमा आयोजना हुँदैछ । यसअघि एक वा दुई देश मिलेर युरोकप आयोजना गर्ने गरेका थिए ।

अहिलेसम्म १५ संस्करण सम्पन्न हुँदा १२ पटक एकै देशले आयोजना गरेको छ भने  तीन पटक भने दुई देश मिलेर आयोजना गरेका थिए ।

युरोकप २०२० मा भने ११ देशको ११ शहर आयोजकको रुपमा रहेको छ । हुन त यसअघि एउटा मात्र देशले आयोजना गर्दा त्यो देशको ११-१२ वटा स्टेडियममा खेल हुने गर्थ्यो । यसपटक देश फरक भएपनि ११ वटै स्टेडियममा खेल हुनेछ ।

सन् २०२० जुन १२ देखि जुलाई १२ सम्म हुने तय गरिएकोमा कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको हो । एक वर्ष पछि सरे पनि प्रतियोगिताको नाम भने युईएफए युरो-२०२० नै रहने युरोपियन फुटबल महासंघ युईएफएले निर्णय गरेको हो ।

किन धेरै देश आयोजक ?

युरोकपको सुरुवात सन् १९६० मा भएको थियो । त्यसबाट हरेक ४-४ वर्ष युरोकप आयोजना हुँदै आएको छ । त्यसबाट २०२० सम्म आइपुग्दा युरोकपको इतिहास ६० वर्ष पुगेको छ । यसै अवसरलाई मनाउन युरोकप धेरै देशमा आयोजना गर्ने निर्णय भएको हो ।

युक्रेनको किभमा सन् २०१२ को युरोकप फाइनल अघि तत्कालीन युईएफए अध्यक्ष मिचेल प्लाटिनीले २०२० को युरोकप एक वा जोइन्ट होस्ट भन्दा १२ वा १३ देशमा आयोजनाका लागि प्रस्ताव गरे ।

युरो सुरु भएको ६० वर्ष पुगेको अवसरमा तत्कालीन युईएफए अध्यक्ष प्लाटनीले आयरल्याण्डको डब्लिनदेखि अजरवैजानको बाकुसम्म युरोकप आयोजना गर्ने प्रस्ताव गरेका थिए । त्यसै वर्ष डिसेम्बरमा युईएफएले २०२० को युरो धेरै देशमा आयोजना गर्ने निर्णय गरेको हो ।

यो निर्णयपछि युरोपको ११ देशको विभिन्न ११ शहरमा युरो २०२० का खेलहरु आयोजना हुनेछ । जसमध्ये सबैभन्दा धेरै दर्शक क्षमता रहेको लण्डनस्थित वेम्बली स्टेडियममा सेमिफाइनल र फाइनल खेल हुनेछ ।

उद्घाटन खेल समूह ए मा रहेका टर्की र इटलीबीच इटलीको रोमस्थित स्टाडिओ ओलम्पियामा खेलाइनेछ ।

यस पटक आफ्नै देशको होस्ट सिटी भए पनि त्यो राष्ट्रले युरोकपमा सिधै छनोट हुने व्यवस्था भने थिएन । सबै टिमले छनोट चरण पार गरेर मात्र युरोकपमा स्थान बनाएका हुन् ।

यस पटक युरोकपमा उत्कृष्ट २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । २०१६ मा फ्रान्समा भएको युरोदेखि २४ टिमले प्रतिस्पर्धा गर्न थालेका हुन् । पोर्चुगल युरोकपको साविक विजेता हो ।

कुनकुन देशमा हुनेछ युरो २०२० ?

यस पटक युरोकप इटलीको रोम, इङ्ल्याण्डको लण्डन, नेदरल्याण्ड्सको आम्स्टर्डम, अजरवैजानको बाकु, स्पेनको सेभिया, रोमानियाको बुकारेस्ट, हंगरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, स्कटल्याण्डको ग्लास्गो, जर्मनीको म्युनिख र रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ ।

आयोजक ११ मध्ये ९ राष्ट्रले युरोकप २०२० खेल्दैछन् । तर रोमानिया र अजरवैजान भने छनोट हुन सकेनन् । अजरवैजानको बाखु र रोमानियाको बुखारेस्टले समान ४ खेल आयोजना गर्नेछन् ।

आयोजक राष्ट्रले समूह चरणका खेलहरु घरेलु मैदानमा खेल्न पाउनेछ । यदि दुई आयोजक एकै समूहमा परेमा सिधै छनोट हुने आयोजकले घरेलु मैदानमा खेल्नेछ ।

लण्डनमा सबैभन्दा धेरै ८ खेल हुनेछन् भने रसियाको सेन्ट पिटर्सवर्गमा ७ खेल हुनेछन् । बाँकी ९ राष्ट्रमा ४-४ खेल हुनेछ ।

युरोकपको सबै खेल सेन्ट्रल युरोपियन टाइम (सीइटी) अनुसार हुनेछ । त्यहाँको समयभन्दा नेपालको समय ३ घण्टा ४५ मिनेट अगाडि छ ।

नेपालमा ६:४५, ९:४५ र १२:४५ बजे खेल सुरु हुनेछ ।