नेपाल र इराकबीच आज मैत्रीपूर्ण खेल हुँदै

जेठ १५, २०७८


१५ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नतिजाभन्दा पनि प्रदर्शन महत्वपूर्ण हुने बताएका छन् ।

इराकसँगको खेलअघि बोल्दै प्रशिक्षक अलमुताइरीले राम्रो प्रदर्शनमा जोड दिएका हुन् । नेपाल र इराकबीच आज मैत्रीपूर्ण खेल हुँदैछ ।

नेपाल र इराक चौथो पटक खेल्न लागेका हुन् । यसअघिका तीन खेलमा नेपाल पराजित भएको थियो ।

फिफा वरीयतामा नेपालभन्दा इराक १०३ स्थान माथि छ । २००७ को एसिया कप जितेको इराक फिफाको पछिल्लो वरियतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ ।

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली फिफा विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न कुवेत जानेछ । समूह बी मा रहेको नेपालले जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपालले यसअघि ५ खेल खेल्दा एक खेल जित्दै ३ अंक जोडेको छ ।

खेल विवरण

नेपाल भर्सेस इराक : मैत्रीपूर्ण खेल

मिति : १५ जेठ, २०७८

स्थान :  अल्फायहा अन्तर्राष्ट्रिय मैदान, बसरा, इराक

समय : राति १०:१५ बजे (नेपाली समय अनुसार)