च्याम्पियन्स लिग फाइनल : उपाधिका लागी सिटी र चेल्सी भिड्दै

जेठ १५, २०७८


१५ जेठ, काठमाडौं । युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल आज राति हुँदैछ । जसमा दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् ।

सिटी प्रिमियर लिगको च्याम्पियन टिम हो । चेल्सी भने यस सिजन चौथो स्थानमा रहेको थियो । दुवै टिमले अर्को सिजनको लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ ।

पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । यसअघि फाइनल खेल टर्कीको स्तानबुलस्थित एटाटर्क ओलम्पिक स्टेडियममा खेलाइने तय थियो । तर कोभिड–१९ को रेस्ट्रिकसनले गर्दा यूईएफले फाइनल खेल पोर्टोमा सारेको हो ।

स्पेनिस रेफ्री ४४ वर्षीय एन्टोनिओ मिगुएल लाहोजले खेल खेलाउनुअघि मार्समेलोले ओपनिङ सेरेमोनीमा प्रस्तुति दिने यूईएफएले जनाएको छ ।

सन् १९५६ देखि सुरु भएको च्याम्पियन्स लिगको यो ६६औं संस्करणको फाइनल हो ।

सिटी पहिलो पटक फाइनल पुगेको हो भने चेल्सीले तेस्रो पटक फाइनल खेल्दैछ । यसअघि चेल्सी पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुग्दा सन् २००८ मा म्यानचेष्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । सन् २०१२ मा भने चेल्सीले जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिग जितेको थियो ।