एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक)को नाम फेरिँदै

भदौ ०४, २०७८     सम्पूर्ण कुरा


 नेकपा एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक)को नाम परिवर्तन दुवै पार्टीका नेता छलफलमा छन् ।

सर्वोच्च अदालतको फैसलाअनुसार दर्ता भइसकेको दलको नाममा विशेषण झुण्ड्याउन नपाइने भएकाले नेताहरू छलफलमा जुटेका हुन् ।

एमाले (समाजवादी) अध्यक्ष माधवकुमार नेपालनिकट स्रोतका अनुसार एमालेको नाममा जोड्दा फेरि अदालतमा मुद्दा पर्नेलगायत झण्झटबाट पार हुन नाम फेर्ने तयारी भएको हो । उक्त स्रोतका अनुसार नेकपा (समाजवादी)लगायत नाममा नेताहरू सहमति जुटाउने प्रयासमा छन् ।

यस्तै, जसपा (लोकतान्त्रिक)का नेताहरू पनि नाम फेर्ने छलफलमा छन् । लोकतान्त्रिक समाजवादी पार्टी, लोकतान्त्रिक जनता पार्टीलगायत नामबारे छलफल भइरहेको उक्त पार्टीका अध्यक्ष महन्थ ठाकुरनिकट एक नेताले जानकारी दिए ।

तत्कालीन नेकपाको दर्ता खारेज हुने सर्वोच्च अदालतको २३ फागुन ०७७ को फैसलाअनुसार दर्ता भइसकेको पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने जानकारी निर्वाचन आयोगले दुवै दलका नेताहरूलाई दिएको छ ।

राजनीतिक दलसम्बन्धी नियमावली बिहीबार संशोधन भएपछि शुक्रबार दुवै दलले फेरि अनुसूची फारम भर्नुपर्नेछ । सोही क्रममा दुवै पार्टीको नाम परिवर्तन हुने भएको हो ।