गैरआवसायी नेपाली संघको अध्यक्षमा आचार्यको उम्मेदवारी

भदौ ०५, २०७८


गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवर्द्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन्।

उनले सन् २०२१-२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउन आफूले काम गर्ने बताए। संघको  दशौँ अधिवेशन आगामी अक्टोबर २३-२५ मा काठमाडौँमा हुन गइरहेको छ भने पहिलोपटक अनलाइन माध्यमबाट निर्वाचन हुने बताइएको छ।

‘नेपालको संविधान जारी भएको ६ वर्षसम्म पनि संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा नआउँदा लाखौँ प्रवासी नेपाली प्रभावित भएका र मैले तीन पुस्ता पछि पनि कायम रहने पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको छु, म निर्वाचित भएमा सबै राजनीतिक दल तथा नेपाल सरकारसँग पहल गरेर गैरआवासीय नेपाली नागरिकता लागू गरी छाड्ने छु,’ आचार्यले भने।

आचार्यले युवा तथा महिलालाई संस्थामा अगाडि बढाउनाका साथै संघको सुदृढीकरण तथा शुद्धीकरण आफ्नो प्राथमिकता हुने पनि बताए। ‘विदेशमा बस्ने नेपालीले पठाएको रकम (विप्रेषण) ले नेपाल को अर्थतन्त्र धानेको छ, तर मध्यपूर्व, मलेसियालगायतका मुलुकमा नेपालीका लागि सुरक्षित र मर्यादित रोजगारको वातावरण सिर्जना गर्न धेरै काम गर्न बाँकी छ, संघले यस क्षेत्रमा पहल गरिरहेको छ, सबै साझेदारसँग मिलेर ठोस नतिजा देखिने गरी मैले काम गर्ने छु,’ उनले भने।

‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल नारा बोकेको एनआरएनएले प्रवासमा रहेका नेपालीलाई एकजुट गर्दै उनीहरुसँग रहेको सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्ने उद्देश्य राखेको छ। ‘एनआरएनएप्रति प्रवासी नेपालीको मात्रै होइन, मातृभूमि नेपाल र नेपालीको पनि उत्तिकै अपेक्षा छ, हामीले ती अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ,’ उनले भने।

पर्वतको धाइरिङमा जन्मिएका आचार्य दुई दशकभन्दा बढी समयदेखि बेलायतमा बसोबास गर्दै आएका छन्। ‘सन् २००३ मा अग्रजले संघ स्थापना गर्दा अगाडि सारेको भिजनलाई नै समयानुकूल बनाई आफूले काम गर्ने दृढता रहेको र संसारभरि फैलिएका नेपाली नेपाल समृद्ध भएको हेर्न चाहन्छन्, यसका लागि सङ्घले सक्दो पहल गरिरहेको छ, नेपाल सरकारले यसका लागि उपयुक्त वातावरण बनाई देओस् भन्ने मात्र हाम्रो चाहना हो,’ उनले भने। (रासस)