गण्डकी प्रदेशका मन्त्री थापाले सरकारी सुविधा नलिने

भदौ ०७, २०७८


गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले सांसद निर्वाचित भएयता कुनै सरकारी सुविधा लिएका छैनन् । पत्रकार सम्मेलन नै गरेर आफूले पाउने सुविधा जनताको विकास र सेवामा खर्च गरेको सार्वजनिक गरेका छन् ।

शुक्रबार सार्वजनिक ५८ औँ महालेखा प्रतिवेदनले भन्छ- ‘गण्डकी प्रदेशका मन्त्रीहरूले ऐनविपरीत २ लाख ६० हजार रुपैयाँ भत्ता लिएका छन् ।’ तत्कालीन नेकपा सरकार रहँदा प्रदेशका सात मन्त्रीले उक्त भत्ता ऐनविपरीत लिएका थिए । महालेखा परीक्षकको प्रतिवेदनमा ऐनविपरीत भत्ता लिएको खुलासा गरिएको छ । तर, गण्डकीमा नै थापाजस्ता सांसद पनि छन्, जसले ऐनअनुसार पाउने सुविधा लिएका छैनन् । उल्टै आफूले पाउने सुविधामा व्यक्तिगत रकम थपेर सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् ।

२०७५ सालमा उनले १० लाख ५४ हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरेका थिए । त्यतिबेला उनले सांसदको हैसियतमा सात लाख रुपैयाँ नौ हजार रुपैयाँ पाउँथे । उक्त सुविधामा व्यक्तिगत साढे तीन लाख रुपैयाँ थप गरेर जनताको सुविधा तथा सामाजिक क्षेत्रमा खर्च गरेका थिए ।

२०७६ सालमा पनि उनले प्रदेशसभा सचिवालयबाट आएको आठ लाख ५९ हजार रुपैयाँसहित आफूले थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेका थिए ।

अहिले उनै थापा प्रदेशको मन्त्री बनेका छन् । मन्त्री बनेपछि आवास सुविधा नलिने निर्णय गर्दै आफ्नो निवास नै भेटघाटको लागि खुला गरेका छन् ।

आफूले व्यक्तिगत सुविधा नलिने, पाउने सुविधा जनताका लागि खर्च गर्ने प्रतिबद्धता उनले दोहो¥याएका छन् । शनिबार उनले पोखरा–३३ भरतपोखरीका युवालाई व्यक्तिगत खर्चमा १५ थान भलिबल र जाली हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले खेलकुद सामग्री आफूले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी गराए ।

मन्त्री थापाले प्रदेशमा कांग्रेसको सरकार आएपछि पोखरा–३३ को विकासका लागि बजेट विनियोजन गर्न सफल भएको र हाल सोही अनुरूपको काम भइरहेको बताए । उनले प्रदेशमा कांग्रेसको नेतृत्व हुनु सबैको जित भएको दाबी पनि गरे ।

सरकारी निवास समेत प्रयोग नगरी आफ्नै घरमा बसेका मन्त्री थापाले सरकारी खर्च कटौती गरी विकास निर्माणमा समर्पित हुने प्रतिबद्धता जनाएका छन् ।

पोखरा २१ र ३३ लाई दुर्गम वडा मानिन्छ । मन्त्री थापाले त्यस क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताए । उनले आगामी निर्वाचनमा लक्षित हुने गरी आफ्ना काम कारवाहीलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेकामा जोड दिए ।

उनले कांग्रेसको महाधिवेशन सन्निकट भएकाले पूर्वतयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे । क्षमताअनुसारको जिम्मेवारी दिनेगरी यसपालिको महाधिवेशन सम्पन्न हुनुपर्ने उनको आग्रह छ ।

गण्डकी प्रदेशमा एमाले अध्यक्ष केपी ओली पक्षको राम्रै पकड भएको क्षेत्र भए पनि त्यसलाई भत्काउन कांग्रेससहितको गठबन्धन सरकार सफल भएको उनको तर्क छ ।

कार्यक्रममा कांग्रेस पोखरा ३३ भरतपोखरीका सभापति रामचन्द्र पौडेलले मन्त्री थापालाई पार्टीको साख जोगिने गरी काम गर्न आग्रह गरे । मन्त्री थापाको विषयमा जनस्तरमा आफूले धेरै गुनगान सुनिरहेको र यसलाई यथावत राख्ने गरी कामबाट गति लिनुपर्ने आवश्यकता रहेको उनले बताए । आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुनेगरी काममै ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

कांग्रेस पोखरा ३३ भरतपोखरीका पूर्वसभापति भोजराज आचार्यले अघिल्लो सरकारले नगरेका काम अहिलेको सरकारले गरेर देखाएको दाबी गरे ।