अनमोल र सौगातपछि ‘एक्स ९’ मा पुष्पको इन्ट्री

भदौ ०७, २०७८


नेपालकै पहिलो ठूलो क्यानभासमा बन्न लागेको एक्सन केन्द्रित चलचित्र ‘एक्स ९’ मा नाम चलेका कलाकारहरुले संझौता गर्ने क्रम जारी छ । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यो चलचित्रमा नायक अनमोल केसी र सौगात मल्लको प्रवेश भैसकेको छ । जनवरीबाट यूरोपका विभिन्न देशमा छायांकन हुने चलचित्रमा अब अर्का नायक पुष्प खड्काको समेत इन्ट्री भएको छ ।

पुष्पले निर्माणपक्षसँग लिखित संझौता गरिसकेका छन् । यो सँगै अहिलेका हट केक नायकहरु अनमोल केसी र पुष्प खड्काले पहिलो पटक एकसाथ पर्दा शेयर गर्ने पक्का भएको छ । चलचित्रमा कलाकार राज कटुवाल पनि फाइनल भैसकेका छन् । चलचित्रका लागि अनमोल, सौगात र पुष्पले नै शरीर बनाउनुपर्नेछ । उनीहरुले जीमसँगै एक्सनको कोर्ष समेत लिनेछन् ।

वुझिए अनुसार, करिब ६ महिना कलाकारहरुलाई आफूमा परिवर्तन ल्याउन समय लाग्नेछ । चलचित्रको खलपात्रमा बलिउडका कलाकारलाई राख्ने तयारी समेत यसको निर्माणपक्षले गरेको छ । नायक सुनिल सेट्टीले महंगो रकम मागेपछि यसको निर्माणपक्षले कलाकार सोनु सुदलाई अफर गरेको थियो । यस्तै, अब यसको टिम कलाकार नवाजुद्दिन सिद्धिकीलाई पनि अफर गर्ने तयारीमा रहेको वुझिएको छ ।