प्रमोदको ‘ग्रीन बर्ड’ मा सुरक्षा पन्त

भदौ २०, २०७८


काठमाडौं सहित तीन जिल्लाका प्रशासन कार्यालयले सिनेमा हल सञ्चालन र छायांकनका लागि अनुमति दिएसँगै प्रि-प्रोडक्सनमा रहेका दर्जनौं फिल्म छायांकनमा निस्कने तयारीमा जुटेका छन् । त्यसो त, प्रशासनले छायांकन अनुमति नदिँदा पनि लुकिछिपी फिल्मको छायांकन भने भइरहेकै थिए । शुक्रवारबाट प्रशासनले २५ जनाको उपस्थितिमा मात्र छायांकन गर्न अनुमति दिएको हो ।

छायांकन खुल्ला भएसँगै ‘अन्डर प्रि-प्रोडक्सन’ मा रहेको फिल्म ‘ग्रीन बर्ड’ पनि आउँदो हप्ताबाट छायांकनमा निस्कने भएको छ । चितवन र नवलपुरमा खिचिने फिल्ममा अभिनेत्री सुरक्षा पन्तले मुख्य भूमिकामा अभिनय गर्दैछिन् । कमलमणी नेपाल र अफरान अलीको पनि अभिनय रहने फिल्मलाई प्रमोद कँडेलले निर्देशन गर्नेछन् । यसैबाट उनले फिचर फिल्ममा डेब्यू गर्न लागेका हुन् ।

योङ स्टार सिनेमाको ब्यानरमा निर्माण हुन लागेको फिल्मले परिवार र समाजको मूल्य मान्यताविरुद्ध गएर आफ्नो जीवन जिउन चाहने एक युवतीको संघर्षको कथा भन्नेछ । फिल्मको स्टोरी र स्क्रिनप्ले निर्देशक कँडेल आफैंले तयार पारेका हुन् । कात्तिक स्मित कर्नाटकको छायांकन रहने फिल्मलाई अन्जय खड्काले सम्पादन गर्नेछन् । यही भदौ २५ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ ।

मेथड एक्टिङलाई चित्रण गर्नका लागि अहिले सबै कलाकारलाई सुटिङ हुने चितवनको एक घरमा राखेर कार्यशाला भइरहेको छ । फिल्ममा मेथड एक्टिङको प्रक्रियालाई आत्मसात गरिने निर्देशक कँडेलले बताए । सुरक्षाले फिल्म ‘आमा’ रिलिजपछि लामो समय नयाँ फिल्म साइन गरेकी थिइन् । ‘ग्रीन बर्ड’ को कथावस्तु र आफ्नो चरित्र मन परेपछि काम गर्न लागेको उनको भनाई छ ।