सुरक्षाको ‘ग्रीन बर्ड’ छायांकन सकियो

असोज १५, २०७८


नेपाली फिल्मको छायांकन ३०/३५ दिनसम्म हुने गर्छ । त्यसअघि फिल्मको छायांकन सकिने सम्भावना ज्यादै न्यून हुन्छ । तर, फिल्म ‘ग्रीन बर्ड’ को छायांकन भने १९ दिनमै सकिएको छ । २५ दिनको सेड्युल बनाएर छायांकनमा निस्किएको फिल्मको मंगलवार अन्तिम सिन खिचियो । फिल्मको सम्पूर्ण छायांकन चितवन-नवलपुरमा भएको निर्देशक प्रमोद कँडेलले जानकारी दिए ।

फिल्ममा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् भने कमलमणी नेपाल र अफरान अली लगायतको पनि अभिनय रहेको छ । योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मले परिवार र समाजको मूल्य मान्यताविरुद्ध गएर आफ्नो जीवन जिउन चाहने एक युवतीको संघर्षको कथा वाचन गर्ने बताइएको छ । यो फिल्मको स्टोरी र स्क्रिनप्ले निर्देशक कँडेल आफैंले तयार पारेका हुन् ।

फिल्ममा सुरक्षा माइक्रोबायोलोजी पढिरहेकी २२ वर्षिय युवतीको भूमिकामा छिन् । कात्तिक स्मित कर्नाटकले खिचेको फिल्मलाई अन्जय खड्काले सम्पादन गर्नेछन् । छायांकन सुरु हुनुभन्दा अगाडि मेथड एक्टिङलाई चित्रण गर्न फिल्मका सम्पूर्ण कलाकारलाई चितवनको एक घरमा राखेर दुई हप्तासम्म कार्यशाला गरिएको थियो । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।