‘सत्यम्’ मा राजेश हमालको जोडी नीलम

कार्तिक २२, २०७८


अभिनेता राजेश हमालले करीब चार वर्षपछि कमब्याक गर्न लागेको फिल्म ‘सत्यम्’ मंसिर दोस्रो हप्ताबाट छायांकनमा निस्कने तयारीमा छ । तिहारअघि फिल्मका कलाकारहरुले धम्पुसमा दश दिनसम्म वर्कसप गरेका थिए । शंकर कार्कीले निर्देशन गर्ने यस फिल्ममा हमालसँगै पल शाह, मलिका महत, अनुपविक्रम शाही, किशन सुनार, मिलन सिजापतिको पनि मुख्य भूमिका रहनेछ ।

फिल्ममा राजेश हमालको जोडीको रुपमा मोडल तथा भिजे नीलम चन्द अनुबन्ध भएकी छन् । फिल्ममा उनी हमालको प्रेमिकाको भूमिकामा देखिने निर्देशक कार्कीले जानकारी दिए । लामो समयदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँँदै आएको ‘कल कान्तिपुर’ कार्यक्रममा भिजेको रुपमा काम गर्दै आइरहेकी नीलमले एक दर्जन बढी म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छन् ।

‘सत्यम्’ मा हमालको पूर्व श्रीमतीको भूमिकाका लागि भने अभिनेत्री निरुता सिंहलाई अफर गरिएको छ । उनी आफ्नो भूमिकालाई लिएर सकारात्मक भए पनि कागजी सम्झौता भइसकेको छैन । एक समय हमाल र निरुताको जोडी पर्दामा निकै जमेको थियो । त्यसबेला दर्शकले उनीहरुलाई वास्तवमै श्रीमान्(श्रीमती ठान्ने गर्दथे । यो जोडीलाई फेरि ठूलो पर्दामा हेर्ने दर्शकको ठूलो इच्छा छ ।

अभय बराल, प्रिन्स प्रसिद्द सिंह थापा, नेरिस्का स्थापित, सूजन परियार लगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्मका निर्माता रेशम सापकोटा हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको फिल्ममा सह(निर्माताहरुमा रेशम गौतम, सुबास भुर्तेल, श्याम मल्ल र कृष्ण अधिकारी छन् । अष्ट मान महर्जनको द्वन्द्व निर्देशन रहने यस फिल्ममा हमाल चार फरक लुक्स देखिनेछन् ।