तुलसीपुरमा ब्राउनसुगरसहित आमा–छोरा पक्राउ

मङि्सर ०५, २०७८


मंसिर ५, तुलसीपुरमा प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठ र उनका छोरा रोहनलाई प्रहरीले पक्राउ गरेको हो । सुशीलाको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम ब्राउनसुगरसहित सुशीला र छोरा रोहनलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरुले ब्राउन सुगर विक्री वितरणकालागि पुडिया बनाउदै गरेको अबस्थामा फेला पारिएको हो । सुशीलाको घर तुलसीपुर उपमहानगरपालिका–६ स्थित विद्युत् कार्यालय देखि पछाडि रहे पनि हाल तुलसीपुर–५ मा बस्दै आएकी छिन् । आमा–छोरा दुवै ब्राउनसुगर कारोबारी हुन् । कारोबारमा उनका श्रीमान् वसन्त श्रेष्ठको पनि संलग्नता रहेको भन्दै अनुसन्धानका लागि खोजी गरिरहेको छ ।