महाधिवेशन प्रतिनिधि छनौट गर्दा ख्याल गरौं : गगन थापा

मङि्सर ०६, २०७८


मंसिर ६, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टी भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै आज गर्ने महाधिवेशन प्रतिनिधि चयनको निर्णयले महाधिवेशनबाट पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय हुने उनको भनाइ छ । आज देशभर पार्टीको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । आज गर्ने निर्णय र छनोटले नै मंसिर २४ देखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय गर्छ भन्ने ख्याल राख्दै निर्णय गर्नका लागि हार्दिक अपिल गर्दछु, थापाको अपीलमा उल्लेख छ ।

आज सही निर्णय गर्न सक्यौं भने मात्र पार्टीले सहि गति लिने थापाको भनाइ छ । पार्टीलाई नवजीवन दिने कामको आरम्भ तपाईंहरुबाट हुनेछ। तपाईं निर्णय पार्टीको सर्वोत्तम हित र नव निर्माणका लागि हुने छ भन्नेमा विश्वस्त छु,’ थापाले भने । परिवर्तनको वेगलाई ठम्याएर समयानुकूल पाइला चाल्न सकियो भनेमात्र हाम्रो श्रेष्ठता प्रमाणित हुने उनले बताए । सात दशकदेखि नेपाली राजनीतिको हरेक मञ्चमा हाम्रो पार्टीले सदा केन्द्रीय भूमिका निर्वाह गर्दै आएकोमा हामीलाई गर्व छ । तर, इतिहासलाई सिरानी हालेर मात्र अब हाम्रो श्रेष्ठता कामय रहन सक्दैन । परिवर्तनको वेगलाई ठम्याएर समयानुकूल पाइला चाल्न सकियो भनेमात्र हाम्रो श्रेष्ठता प्रमाणित हुँदै जानेछ, उनले भने ।