१८ वर्ष उमेर माथिकालाई कोरोनाविरुद्धको खोप लगाइने

मङि्सर ०६, २०७८


मंसिर ६, कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि यहाँ १८ वर्षमाथि उमेर समूहलाई स्थानीय तहले निर्धारण गरेको खोप केन्द्रबाट खोप लगाइने भएको छ । यही मङ्सिर ११ देखि १५ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनारका अनुसार जिल्लामा भेरोसेल खोपको एक लाख मात्रा उपलब्ध भएको छ ।

जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकको निर्णयबमोजिम खोप अभियान सञ्चालन हुन गइरहेको उनले बताए ।भेरोसेल खोपको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई दोस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाइएको छ, उनले भने, स्वास्थ्य कार्यालय र स्थानीय तहमा समेत गरी कोभिडसिल्ड, अस्ट्राजेनिका खोपको १४ हजार मात्रा मौज्दात छ ।

दुवै खोपसमेत १८ वर्ष माथिका समूहलाई पहिलो मात्रा दिन सात हजार मात्रा वितरण गर्ने र बाँकी सात हजार मात्रा चार हप्तापछि दोस्रोका लागि मौज्दातका रुपमा राखिने उनले बताए । पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई स्थानीय तहले तोकेको खोप केन्द्रमार्फत खोप लगाइनेछ ।

खोप अभियानअन्तर्गत ‘क’ र ‘ख’ श्रेणीका अपांगता भएका व्यक्तिलाई सहयोगी संस्थाको सहयोगमा घरमै गई खोप लगाउन स्थानीय तहले निर्णय गरी खोप लगाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।