अन्तिम पटक सभापति भएर पार्टीमा राम्रो काम गर्न चाहन्छु : देउवा

मङि्सर २०, २०७८


सोमबार बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीमा देउवाले अन्तिम पटकका लागि फेरि सभापति हुन चाहेको बताए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा देउवाले आफू पार्टीकै विधान बमोजिम अन्तिम पटक सभापति बन्न चाहेको बताए। म पार्टीको विधान बमोजिम एकपटक सभापति बन्न चाहेको छु, यो अन्तिम पटक हो । मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु, उनले भने। देउवाले आफू सभापति बनेको अवस्थामा अझै राम्रो काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यसका लागि पार्टीभित्रका सबैलाई सहयोग गर्न समेत आह्वान गरेका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले कांग्रेसको महाधिवेशन शक्ति प्रदर्शन नगर्ने समेत बताएका छन् । शक्ति प्रदर्शन गरेर जनतालाई अनावश्यक दुःख दिने पक्षमा कांग्रेस छैन, उनले भने । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको कारण कांग्रेसले खतरा नमोल्ने देउवाको भनाई छ । यसलाई एमालेसंगको प्रतिस्पर्धासँग नजोड्न पनि उनले आग्रह गरे ।